देशमा सार्वजनिक पदाधिकारीले गरेका भ्रष्टाचारको अनुसन्धान गरेर अदालतसमक्ष अभियोग लगाउने एउटैमात्र सम्वैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्तो अभियोग दर्ता गराएर निलम्बनमा परेका सरकारी निकायका एक उच्चअधिकारी अर्को एउटा गम्भीर आरोपमा फेरी चर्चामा आएका छन् । उनीमाथि जरिवाना सहित २८ करोड रकम र १० वर्षभन्दा माथिको जेलसजायको माग गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषअदालतमा अभियोग दर्ता गरेको भोलिपल्ट नै यी अधिकारीको अर्को एउटा गम्भीर अपराधकर्म प्रकट भएको छ । हवाई प्राधिकरणजस्तो अतिसम्वेदनशील निकायका लामो समयदेखि प्रमुख रहेका ती अधिकारीले आफ्ना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको रिसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका वहालवाला प्रमुख आयुक्तलाई हत्या गर्न सुपारी दिएको आरोप लागेको छ, जो सामान्य अपराध होइन । यही आरोपमा नागरिक उड्डयन प्राधिकरणका वहालावला महानिर्देशक पक्राउ परेका कुरा बाहिर आएको छ । उनले आयोगको इमेल ठेगनामा पठाइ १० दिनभित्र पदबाट राजीनामा नदिए प्रमुख आयुक्त राईलाई हत्या गर्ने धम्की दिएका भन्ने समाचार विवरणमा उल्लेख भएको छ । यसका बारे सरकाले छिटोभन्दा छिटो प्रष्ट पार्न आवश्यक देखिन्छ ।
अहिलेसम्मको अनुसन्धानमा भेटिएसम्मका प्रमाणले यी पदाधिकारीसहितको समूहले पठाएको मृत्युदण्ड दिने भनी उल्लेख भएको सूचीमा अख्तियार प्रमुखको मात्र होइन यतिबेलाको संसदको सबभन्दा ठूलो दलका नेता, पूर्वप्रधानमन्त्री पत्नी तथा निवर्तमान परराष्ट्र र गृहमन्त्रीसहितका विशिष्ठ व्यक्तिहरुको नाम उल्लेख भएको बताइएको छ । यसमा यस्ता विशिष्ठ दर्जनभन्दा बढी व्यक्तिका नाम किटानी गरिएको समाचारहरु आएका छन् । समाचार अनुसार तीनजना त नेपाल प्रहरीका पूर्वआईजीपीका नाम रहेको बताइएको छ । उल्लिखित व्यक्तिलाई हत्या गर्ने योजना रहेको भनेर उनीहरुले नै विद्युतीय माध्यमहरुमा जानकारी दिइरहेको अवस्था छ । भरखरमात्रै देशमा एउटा ठूलो विध्वंश भएको छ । देशभरी आगो लगाइएको त्यो काण्ड कसले गराएको हो भन्ने खुलिसकेको छैन । छानीछानी मान्छेका घर जलाइएका छन् । उनले गरेका अपराधपूर्ण कामका रेकर्ड रहेका सरकारी कार्यालयहरु र अदालतमा पनि आगजनी भएको छ । अदालतमा पनि त्यस्ता फाट जेलका छन् जहाँ उनका मुद्दा थिए । जेल तोडिएको, हतियार लुटिएको घटनाका योजनाकारहरु को थिए भन्ने राज्यले अहिलेसम्म सार्वजनिक गरेको छैन । आगजनी गर्नेमाथि प्रहरीले निगरानी गर्दा गृहमन्त्री स्वयम्ले त्यसो नगर्नू भनेर निर्देशन दिएको कुराले नै यस्ता षडयन्त्रका धेरैपाटा उजागर गर्छ ।
त्यसकारण पनि यस्ता अपराधपूर्ण घटनाको गम्भीर छानबिन हुनुपर्ने अहिलेको खाँचो हो । अहिले दिइएको यस्तो मृत्युदण्डको धम्की योजनाबद्ध रहेको बुझिन्छ । खासगरी अख्तियार प्रमुखलगायतलाई हत्या गर्ने योजनामा सघाउ गरेवापत नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक नै यतिबेला प्रहरीले पक्राउ गरेको भनेर समाचारमा उल्लेख भएका छन् । यसबारे प्रहरीले चाहिँ हिँजो अवेरसम्म कुनै जानकारी गराएको छैन । यी पदाधिकारीभन्दा पनि पहिले यही समूहका केही व्यक्ति पक्राउ परेका थिए । यस्ता व्यक्तिलाई यता जेनजीले भने शासनसत्तासँग जोडेर यिनलाई पक्राउ नगर्नू भनेर निरन्तर माग गरिरहेको देखिन्छ । यसले घटना झन्झन् असामान्य हुँदै गएको बुझाउँछ । विवरणमा आएअनुसार यो प्रकरणमा पक्राउ परेका व्यक्तिले नै महानिर्देशक योजना र आर्थिक सहयोगमा यो काम भइरहेको भनेर बयान दिएका छन् । त्यही आधारमा यी उच्च अधिकारी समातिएका बताइएको छ । यो हत्या योजना प्रहरीको निकै नजिक पुगेको छ । त्यसो हो भने यसलाई अब सार्वजनिक रुपमा जानकारी गराउनु बेस होला । त्यसो नहुँदा भूमिगत गिरोहले चलखेल गर्ने मौका पाउन सक्तछ । सार्वजनिक र निजीघरमा आगो झोस्नेहरुलाई पक्राउ नगर्नू, पक्राउ परेका भए तुरुन्तै छाड्नू भनेर लिखित निर्देशन दिने गृहमन्त्रालय यो अपराधकर्मको पनि सहयोगी हुनसक्तछ । ध्यान जाओस ।