नेपाल सधैंजसो राजनीतिक संकटमा गुज्रिरहेको देश हो । राणा शासनको अन्त्य हुँदै २००७ सालमा प्रजातन्त्रको उदयसँगै मुलुकले तीव्र विकास हासिल गर्ने अपेक्षा गरिएको थियो । तर, शासन प्रणाली बदलिँदै गए पनि देशको वास्तविक अवस्था भने धेरै हदसम्म उस्तै रहिरह्यो । कुनै पनि राष्ट्र विकासको बाटोमा अघि बढ्न शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर, उद्योग–व्यवसायको विस्तार र प्रति व्यक्ति आम्दानीमा वृद्धि अनिवार्य हुन्छ । तर, नेपालमा यी आधारहरू अपेक्षित रूपमा अगाडि बढ्न सकेनन् । न उद्योग–धन्दा विकास हुन सक्यो, न त स्थिर राजनीति नै हुन सक्यो । २००७ को प्रजातन्त्रपछि जनताको आशा धेरै थियो, तर संसारले औद्योगिक विकास गरिरहँदा, नेपालमा भने आजको दिनमा भएको उद्योग पनि मासिन गएको छ भने आवश्यकता अनुसारका ठूला उद्योग खुलेका छैनन् । देशलाई आत्मनिर्भर हुने गरी न त कृषिक्रान्ति नै हुन सक्यो, न त औद्योगिक क्रान्ति नै हुन सक्यो । अझ व्यवस्था सहरीकरणसँगै देशले नयाँ विकासको गति लिन सकेको छैन । न त आजको दिनसम्म रेलमार्ग देशमा बनेको छ, न त सहरमा मेट्रो ट्रेन नै छ, न त आशा अनुसार स्वास्थ्यको विकास भएको छ, न त प्राविधिक शिक्षामा प्रगति भएको छ । जनता गरिबीको रेखामुनि रहेका छन् भने छिमेकी ठूला दुई राष्ट्रले भने अपेक्षित रूपमा विकासको ढोका खोलेका छन् । आज चीनले प्रति व्यक्ति आय आजको दिनमा लगभग अमेरिकी चार लाख चौध हजारको हाराहारीमा पुगिसकेको छ, तर ७५ वर्षअघिको नेपाल र चीनको अवस्था लगभग उस्तै देखिन्छ । तर नेपालमा आजको दिनमा पनि आर्थिक स्थिति कमजोर रहेको छ ।
ऐतिहासिक आर्थिक स्थिति (सन् १९५० आसपास)
यो अवस्था हेर्दा सन् १९५० तिर नेपाल, चीन र भारत सबै विकासोन्मुख र गरिब मुलुकको श्रेणीमै थिए । तर पनि त्यो बेला हेर्दा र तीन देशबीच तुलना गर्दा भारतको अर्थतन्त्र नेपाल र चीनभन्दा केही बलियो अवस्थामा थियो । तर आजको दिनमा नेपाल झन् झन् आर्थिक दुरस्थामा हुनगएको छ । लाखौँ युवा शक्ति यही कारण रोजगारको सिलसिलामा विदेशिनु परेको छ । देश विकासको लागि युवा शक्ति आवश्यक छ, तर हुनेहरू नै विदेशिएपछि झन् देशको दुर्भाग्य हुने अवस्था आएको हो । विभिन्न माध्यमका डेटा अनुसार सन् १९५० मा प्रति व्यक्ति आय निम्नानुसारको थियो ।
उती बेला भारतमा ब्रिटिस शासनको कारण केही उद्योगको विकास भएको र त्यतिबेला रेलमार्ग बनिसकेको, बन्दरगाहको विकास भइसकेको र विभिन्न उद्योग–धन्दाहरूको विकास भएको थियो । कपडा उद्योगको पनि विकास भएको थियो । तुलनात्मक रूपमा स्थिर प्रशासनिक संरचना हुनुको साथै, देश विकास गरौं भन्ने भावना र व्यापारिक गतिविधिमा अपेक्षाकृत सक्रियता देखिएको कारण भारत १९५० को दशकमा चीन र नेपालभन्दा आर्थिक रूपमा अघि थियो ।
तर, चीनमा १९४९ सम्म दशकौँ गृहयुद्ध चलिरहेको र राजनीतिक अस्थिरता भएको, उद्योग–धन्दा विकास नभएको, आधुनिक कृषि नभएको र परम्परागत कृषिमा निर्भर अर्थतन्त्रका कारण कृषिमा अत्यधिक निर्भरता भएको देशमा रोजगार दिने ठूला उद्योगको विकास नहुनु जस्ता कारण र अस्थिर राजनीति तथा युद्धका कारण जनस्तरमा व्यापक गरिबी हुँदा देश विकास नभएको स्पष्ट छ । चीनको आधारभूत अर्थतन्त्र कमजोर भएकाले नै त्यसबेला चीन भारतभन्दा तल थियो । तर आजको अवस्था हेर्दा देशको कानुनको पालन गर्न सक्ने भावना र आत्मनिर्भरता सहित स्थिर राजनीतिले चीनलाई विश्वमै अग्रणी बनाएको छ ।
नेपालको अवस्था भने सन् १९५० तिर विश्वकै गरिब मुलुकमध्ये पर्दथ्यो र आजको दिनमा पनि केही प्रगति नभएकोमा राजनीति नै दोषी हो भन्न सकिन्छ । नेपालका लागि शिक्षामा विकास नभएको, स्वास्थ्यमा आज पनि आम मानिसको पहुँच नपुगेको, पूर्वाधारको विकास न्यूनतम मात्र भएको, ठूला उद्योग बन्द भएका, नयाँ उद्योग–व्यवसायको अभाव भएको, परम्परागत खेती धेरै ठाउँमा हुनु, बसाइंसराइले धेरै जग्गा बाँझो हुनु, आधुनिक कृषि पनि नहुनु, दक्ष जनशक्ति पलायन हुनु वा जनशक्तिको अभाव हुनुले उत्पादन र उत्पादक क्षमता कमजोर अवस्थामा आउनु, देश झन् झन् कमजोर हुँदै गएको प्रमाण हो । देशमा आजको अवस्था २०२५ सम्म आउँदा पनि अराजक्ता, राजनीतिक अस्थिरता, मिलिजुली खाने भावना र बलियो शासन नभएकोले ७५ वर्षपछि पनि नेपाल तल परेको, गरिब राष्ट्रमा गनिएको छ ।
तीनै देशको आर्थिक प्रगति हेर्दा चीनले असाधारण वृद्धिदर हासिल गरेको देखिन्छ । भारत अत्यन्त द्रुत गतिले अघि बढेको छ । तर नेपाल भने राजनीतिक अस्थिरतामा अल्झिएको छ ।
प्रति व्यक्ति जीडीपी (आजको अनुमानित अमेरिकी डलर)
नेपाल = अमेरिकी ४१,४९६
भारत = अमेरिकी ४२,८७८ (२०२५ अनुमान)
चीन = अमेरिकी ४,१३,८१० (हालका अनुमान)
चीन किन अघि बढ्यो?
चीनले दीर्घकालीन स्थिर नेतृत्व लिए । शासन सक्षम थियो । १९७८ पछि चीनले व्यापक आर्थिक सुधार ग¥यो । सानादेखि ठूला उद्योग–व्यवसायमा ठूलो लगानी गर्यो, लगानीमैत्री वातावरण बनायो । निर्यातमुखी अर्थतन्त्र निर्माण ग¥यो । चीनको जनसंख्या ठूलो छ, त्यसलाई उत्पादक श्रमशक्तिमा रूपान्तरण गर्यो । चीनले संसारलाई काम गर्ने तरिका देखायो । आर्थिक, राजनीतिक, सामाजिक, सैनिक शक्ति र रक्षा क्षेत्रमा समेत अघि बढ्यो ।
भारतमा पनि आर्थिक सुधार लगातार भइरहेको छ । जनसंख्या ठूलो भए पनि निरन्तर सुधार र प्रविधि, सेवा क्षेत्र तथा उद्योगको विस्तार भइरहेको छ । देशमा योग्य व्यक्तिको आगमन भइरहेको छ । स्थिर लोकतान्त्रिक संरचना बनेको छ ।
नेपाल किन पछि पर्यो?
नेपालमा निरन्तर राजनीतिक अस्थिरता बढी रह्यो । प्रशासनिक संरचना मेलमिलापविहीन भयो । सरकार परिवर्तनको श्रृंखला कहिल्यै रोकिने भएन । दीर्घकालीन नीति र योजना अभावमा ठूला उद्योग बन्द भए । उद्योग–व्यवसाय स्थापनामा कमजोरी भयो र भ्रष्टाचारले देशलाई फसायो । प्रशासनिक जटिलताले युवा जनशक्ति विदेशमा निर्भर रह्यो ।
राजनीतिक अस्थिरताले नेपालको आर्थिक मेरुदण्ड बलियो हुन दिएन । राष्ट्रिय गौरवका आयोजना भएनन् । उद्योग विस्तार भएन, रोजगार सिर्जना भएन, आधुनिक पूर्वाधार विकास भएन ।
चीनमा विश्वकै सबैभन्दा ठूलो कामदार वर्ग छ । यसले चीनलाई सस्तो श्रम, विशाल उत्पादन क्षमता, कम लागतमा ठूलो मात्रामा उत्पादन दिने क्षमता दियो । ग्लोबल सप्लाइ चेन नियन्त्रणमा राख्यो । त्यसैले चीन विश्वको कारखाना बन्यो ।
नेपालमा पनि पर्यटन र प्राकृतिक वस्तुको निर्यातको प्रबल सम्भावना छ । चीनको मोडेल अपनाउन जरुरी छ । सेन्जेन, झुहाइ, स्यामेन जस्ता सहरहरू गाउँबाट ठूला सहरमा परिणत भए । लगानी सजिलो भयो, भन्सारमा छुट दिइयो, निर्यात–मुखी उद्योग प्रोत्साहित भए । ३० वर्षमै गाउँबाट सिंगापुर–स्तरको सहर बने ।
चीनले जीडीपीको ८–१२% बराबर पूर्वाधारमा लगानी गर्यो । नेपालमा पूर्वाधार कम छ । उच्चस्तरीय विकासको लागि विमानस्थल, हाइवे, ऊर्जा उत्पादन (हाइड्रो, सोलार) अनिवार्य ।
पूर्वाधारले व्यापार र उद्योग बढाउँछ, रोजगार सिर्जना गर्छ, अर्थतन्त्रमा योगदान पुर्याउँछ । बाटोघाटोले स्थानीय उत्पादन बढाउँछ । आधुनिक कृषि प्रणालीले उत्पादन बढाउँछ । युवालाई आकर्षित गर्छ । व्यापार र उद्योगको विकास हुँदै देशको अर्थतन्त्र चक्रगत रूपमा अघि बढ्छ ।
चीन र भारतले प्रविधि र नवप्रवर्तनमा ठूलो लगानी गरेका छन् । आर्टिफिसियल इन्टेलिजेन्स, ५जी, इलेक्ट्रिक गाडी, ब्याट्री उत्पादन, स्पेस टेक्नोलोजीमा विकास गरेका छन् । चीनमा सस्तो कामदार र प्रविधि वितरणको कारण विश्व बजारमा दबदबा छ । हुवावे, बीवाइडी र अमेरिकी कम्पनीका सामान चीनमा बनेका छन् ।
नेपालमा स्थिर सरकार बनाइ, दीर्घकालीन योजना लागू गरेर, पञ्चवर्षीय योजना अनुसार काम गर्न सके, देश अघि बढ्न सक्थ्यो ।
अब नेपाललाई स्थिर राजनीति आवश्यक छ । निष्क्रिय पुँजीलाई चलायमान बनाउनु, रोजगार सिर्जना गर्नु, औद्योगिक नीति लागू गर्नु, बाँझो जग्गामा उत्पादन बढाउनु, कृषि नीति मजबुत बनाउनु, टेक नीति अपनाउनु, अन्तर्राष्ट्रिय व्यापार बढाउनु, लगानीकर्ता आकर्षित गर्नु र दीर्घकालीन विकासको ढोका खोल्नु जरुरी छ ।