काठमाडौं । मालिन मिडियाको निर्माणमा तयार भइरहेको टेलिभिजन कार्यक्रम ‘सेलिब्रेटी किचन’ अब औपचारिक रूपमा दर्शकसमक्ष आउने भएको छ । कान्तिपुर टेलिभिजनमा हरेक बुधकार साँझ ९ बजे र ओएसआर रियालिटी युटुबमार्फत प्रशारन हुने छ ।
नेपालको चर्चित कलाकार, सार्वजनिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका प्रतिष्ठित हस्तीहरूलाई एउटै भान्सामा ल्याएर नेपाली खानाको पहिचान, स्वास्थ्यप्रद खानेकुरा तथा आतिथ्य संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्य यस कार्यक्रमले राखेको छ । कार्यक्रमकी होस्ट प्रियंका कार्की आफ्नो करिस्मा, सहज प्रस्तुतिका शैली र दर्शकमैत्री ऊर्जा मार्फत प्रत्येक एपिसोडलाई झनै रोचक, प्रेरणादायी र मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ । ‘सेलिब्रेटी किचन’ कार्यक्रमले विविधतायुक्त खानाको संरक्षण र प्रबर्द्धन, स्वस्थ खानपानको सन्देश, नेपाली होटल–रेस्टुरेन्ट तथा आतिथ्य उद्योगको दृश्यता विस्तार र परिवार, समुदाय र संस्कृतिलाई खानाबाट जोड्ने प्रयास गर्ने जनाइएको छ । शो नेपाली टेलिभिजनको अन्य कुकिङ कार्यक्रमभन्दा पूर्णतः भिन्न ढाँचामा तयार गरी प्रस्तुत गरिने दाबी गरिएको छ । कार्यक्रमका निर्माता महेश पोखरेलका अनुसार सेलिब्रेटी किचन खाना, संस्कार र जीवनशैलीलाई एकैसाथ जोडेर बनाइएको बिल्कुलै नयाँ टेलिभिजन शो हो ।
कार्यक्रममा सेफ प्रकाश कटुवाल तथा होस्ट प्रियंका कार्कीले नेपालीदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका थुप्रै परिकार तयार पार्नेछन् । उपस्थित विशेष अतिथिहरूले प्रियंकाले बनाएका परिकार चाखेर आफ्ना प्रतिक्रिया र अनुभव व्यक्त गर्नेछन् । कुकिङ शो भएको भए पनि यसमा जीवनशैली, खानपान बानी, व्यक्तिगत अनुभव, प्रेरणादायी कथाहरू, हल्का मनोरञ्जनात्मक र घरायसी कुराकानी समेत समावेश गरिनेछ, जसले कार्यक्रमलाई अझै गहिरो र दर्शक–आकर्षक बनाउनेछ । यस कार्यक्रमको मुख्य प्रायोजकका रूपमा डाबर हनि रहेको छ भने, लामिनार टाइल्समार्फत किचन सेट तयार गरिएको छ । साथै ज्ञान राइस, टाटा, विग मार्ट, व्यञ्जन तेल, जोए, याडिया स्कुटर, हिमस्टार रहेका छन् ।