कास्की । पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारमा आगामी पुस १३ गतेदेखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ ।
रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) पोखराले बिहीबार पत्रकार सम्मेलन गरी इस्वी सम्वत् २०२६ को अवसरमा २७औं सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । ‘सडक मै खाउ, सडक मै रमाउँ’ भन्ने नाराका साथ महोत्सव फेवाताल किनारको साढे तीन किमी क्षेत्रमा महोत्सव आयोजना हुने रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए । महोत्सवले हालैको जेनजी आन्दोलनपछिको विषम् परिस्थिति र सड्ढटका बाबजुद दिगो पर्यटनको परिकल्पनालाई सार्थक बनाउने विश्वास लिइएको आयोजकले जनाएको छ ।
‘कुनै समय नयाँ वर्ष मनाउन भारतको गोवा र थाइल्यान्ड जाने चलन जस्तै थियो, तर सडक महोत्सवले यो परम्परालाई तोड्दै पोखरालाई नयाँ वर्षको प्रमुख गन्तव्यका रुपमा स्थापित गरेको छ । खाना, संस्कृति र सङ्गीतलाई प्रवर्द्धन गर्ने महोत्सवले पोखराको पर्यटनमा मात्र नभइ समग्र नेपालको पर्यटन विकासमा विशेष स्थान ओगटेको छ’, पौडेलले भने । उनका अनुसार हरेक संकटपछि सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न र ‘पोखरा सुरक्षित तथा खुला छ’ भन्ने सन्देश प्रवाह गर्न महोत्सव फलदायी हुँदै आएको छ । पोखरा सडक महोत्सव केवल एउटा कार्यक्रम मात्र नभइ पोखराको पहिचान, ब्रान्ड र गौरवमय इतिहासको अभिन्न हिस्सा बनेको अध्यक्ष पौडेलको भनाइ छ ।
महोत्सवमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन, झाँकी, विभिन्न प्रतियोगिता, सडकमै राष्ट्रिय तथा अन्तराष्ट्रिय परिकारहरुको प्रदर्शन, प्रत्यक्ष कन्सर्ट, खेलकुदतर्फ ‘बोट रेस’, ‘वेटर रेस’, ‘टग अफ वार’ र पर्यटकका लागि लक्षित विशेष खेलहरु रहेको महोत्सवका संयोजक वसन्त गौतमले बताए । महोत्सवमा सचेतनामुलक सडक नाटक, पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रित गरी टक सो कार्यक्रम, पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पतीलगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने छ ।
‘पोखरा आफैँमा प्राकृतिक र सांस्कृतिक रुपमा एक खुला सङ्ग्रहालय जस्तै सहर हो । यो सडक महोत्सवले यही पहिचानलाई स्थापित गर्दै पर्यटन तथा अर्थतन्त्रमा टेवा पु¥याउने विश्वास लिएका छौँ । विशेषत जाडो मौसममा सुस्ताउने पर्यटन व्यवसालाई चलायमान बनाउँदै यसले बाह्रै महिना पोखराको सन्देश विश्वभर प्रवाह गरेको छ’, संयोजक गौतमले भने । महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्गेजी नयाँ वर्षको गन्तव्य स्थलका रुपमा प्रबर्द्धन गर्दै आएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।