काठमाडौं । नेपाली बजारमा करिब दुई दर्जन बढी कम्पनीहरू प्रतिस्पर्धामा देखिएका छन् । सेवा प्रवाहलाई गुणस्तरीय बनाउनभन्दा पनि ग्राहक संख्या बढाउन होडबाजी गरिरहेकाले उनीहरु प्रतिस्पर्धामा देखिएका हुन् ।
दर्जनौँ संख्यामा रहे पनि उनीहरुले ग्राहकलाई भने इन्टरनेटको प्रतिबद्धता गरिएबमोजिमको गति भने प्रदान गर्न नसकेको ग्राहकहरुको गुनासो छ । नेपाली बजारमा अहिले वल्र्डलिंक, डिसहोम, नेपाट टेलिकमसहित करिब दुई दर्जन कम्पनीको हालिमुहाली छ । तर बजारमा प्रतिस्पर्धा गर्नेमध्ये सबैभन्दा बढी बजार हिस्सा वर्ल्ड लिंकको रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
प्राधिकरणका अनुसार असोजसम्ममा बजार हिस्साको हिसाबले वर्ल्ड लिंकका सबैभन्दा ग्राहक छन् । वल्र्ड लिंकका ग्राहक १० लाख ३६ हजार पुगेका छन् भने इन्टरनेट कम्पनीहरूमा सबैभन्दा बढी बजार हिस्सा कायम गर्न सफल वर्ल्ड लिंक पछिको डिसहोम हो । डिसहोमका ग्राहक ३ लाख ७७ हजार पुगेका छन् । बजार हिस्साको हिसावले तेस्रो नम्बरमा सरकारी लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ । टेलिकमका ग्राहक ३ लाख ६० हजार पुगेका छन् ।
बजार हिस्साको रुपमा चौथो नम्बरमा भायनेट छ । बजार विस्तारमा आक्रामक देखिएको भायनेटका ग्राहक ३ लाख २५ हजार पुगेका छन् भने पाँचौ नम्बरमा क्लासिक टेक रहेको छ । क्लासिक टेकले असोज मसान्तसम्मा २ लाख ५९ हजार ग्राहक संख्या पुर्याएको छ । बजार हिस्साका रुपमा छैटौं नम्बरमा रहेको सुबिसु इन्टरनेटका ग्राहक २ लाख ५४ हजार पुगेका छन् । त्यसैगरी सातौँ नम्बरमा वेवसफर छ । अहिले बजारमा वेभसफरका ग्राहक १ लाख ७६ हजार रहेका छन् ।
यस्तै बजार हिस्साको हिसावले आठौँ नम्बरमा टेकमाइन्सले देखिएको छ । टेकमाइन्सका ग्राहक १ लाख १५ हजार रहेका छन् भने नबौँ नम्बरमा वाइफाई नेपाल, दशौँ नम्बरमा सिजि कम्युनिकेशन रहेको छ । इन्टरनेट कम्पनीहरुले यसरी ग्राहक तानातानमा उत्रिएका छन्। अहिले पनि उपभोक्ता भने इन्टरनेट प्रयोगमा सन्तुष्ट देखिँदैनन् । इन्टरनेट प्रदायक कम्पनीहरुले इन्टरनेटमा देखिएका समस्याहरु समाधानमा समयमै समाधान गर्न चासो नदेखाउने गरेको गुनासाहरु गर्ने गरेका छन् ।