काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा अन्तरबैंक कारोबार रकम घटेको छ । निक्षेप बढेर तरलता थुप्रिएसँगै बैंक तथा फाइनान्स कम्पनीहरूको बीचमा हुने अल्पकालीन कारोबार घटेको हो ।
निक्षेप बढ्दा छोटो अवधिको लागि अन्य बैंक तथा फाइनान्स कम्पनीहरूसँग सापटी लिने तथा दिने क्रम बैंकिङ क्षेत्रमा घटेकाले यसो भएको हो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले मात्र दुई खर्ब ४२ अर्ब ७९ करोड र विकास बैंक तथा फाइनान्स कम्पनीहरूले ५२ अर्ब ६४ करोड गरी कुल दुई खर्ब ९५ अर्ब ४३ करोडको अन्तरबैंक कारोबार गरेका छन् ।
यो कारोबार रकम गत आवको सोही अवधिको तुलनामा एक खर्ब रुपैयाँले कम हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले तीन खर्ब ७१ अर्ब २५ करोड र बिकास बैंक र फाइनान्स कम्पनीहरूले ३१ अर्ब २० करोड रुपैयाँ समेत गरी कुल चार खर्ब दुई अर्ब ४५ करोडको अन्तरबैंक कारोबार गरेका थिए । अन्तरबैंक कारोबार घटेपछि यसको असर ब्याजदरमा पनि परेको छ ।
२०८१ असोजमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर दुई दशमलव ९६ प्रतिशत रहेकोमा २०८२ असोजमा एक दशमलव ९१ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८१ असोजमा तीन प्रतिशत रहेकोमा २०८२ असोजमा दुई दशमलव ५८ प्रतिशत रहेको छ । २०८२ असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर पाँच दशमलव ५६ प्रतिशत, विकास बैंकहरूको सात दशमलव ९२ प्रतिशत र फाइनान्स कम्पनीहरूको आठ दशमलव ४८ प्रतिशत रहेको छ । २०८१ असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर सात दशमलव २९ प्रतिशत, विकास बैंकहरूको नौ दशमलव १३ प्रतिशत र फाइनान्स कम्पनीहरूको १० दशमलव ३५ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०८२ असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर तीन दशमलव ८५ प्रतिशत, विकास बैंकहरूको चार दशमलव ४५ प्रतिशत र फाइनान्स कम्पनीहरूको पाँच दशमलव ६२ प्रतिशत रहेको छ । २०८१ असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर पाँच दशमलव २४ प्रतिशत, विकास बैंकहरूको पाँच दशमलव ९४ प्रतिशत र फाइनान्स कम्पनीहरूको सात दशमलव २१ प्रतिशत कायम भएको थियो ।
त्यसैगरी, २०८२ असोजमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर सात दशमलव ५० प्रतिशत, विकास बैंकहरूको आठ दशमलव ७७ प्रतिशत र फाइनान्स कम्पनीहरूको १० दशमलव १८ प्रतिशत रहेको छ । २०८१ असोजमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर नौ दशमलव ३३ प्रतिशत, विकास बैंकहरूको १० दशमलव ६३ प्रतिशत र फाइनान्स कम्पनीहरूको ११ दशमलव ८६ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०८२ असोजमा डेविट कार्ड प्रयोगकर्ताहरूले एक करोड आठ लाख कारोबारमार्फत एक खर्ब एक अर्ब २१ करोड रुपैयाँबराबरको कारोबार गरेका छन् । त्यसैगरी, मोबाइल बैंकिङअन्तर्गत छ करोड ४४ लाख (कारोबार संख्या) कारोबारमार्फत पाँच खर्ब ४८ अर्ब ५२ करोड रुपैयाँबराबरको कारोबार भएका छन् । क्यूआर कोड भुक्तानीअन्तर्गत भने तीन करोड ७४ लाख (कारोबार संख्या) कारोबारमार्फत एक खर्ब २१ अर्ब ७८ करोड रुपैयाँबराबरको रकम कारोबार भएको छ ।