हेटौँडा । हेटौँडा बजारमा सडक विस्तार गर्ने सिलसिलामा शनिबार करिब १० घण्टा लगाएर घर/टहरा डोजर लगाएर भत्काउने काम भएको छ । राजनीतिक दलका केही नेताहरूले संरक्षण गरेको कारण हेटौँँडा भएर गएको पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको केही सडकखण्ड विस्तार हुन सकेको थिएन ।
सडक डिभिजन हेटौँडाले यही मंसिर ५ गते सार्वजनिक सूचना प्रकाशित गरी महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमाभित्रका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिँदै सूचना प्रकाशित गरेको थियो ।
सडक डिभिजन हेटौँडाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सीडीई) गुरुप्रसाद अधिकारीका अनुसार उक्त अल्टिमेटम शुक्रबार रातिदेखि सकिएसँगै शनिबार बिहानबाट सडक अतिक्रमण गरेर बनाइएका घर/टहरा भत्काउन डोजर प्रयोग गरिएको थियो । ‘शनिबार बिहानैदेखि झण्डै १० घण्टा लगाएर करिब पाँच सय घर/टहरा भत्काइयो । शनिबार घर/टहरा भत्काउँदा सडक किनारमा थुप्रिएको फोहोरहरू आइतबारदेखि पन्छाउने काम हुनेछ । त्यसपछि सडकलाई चौडा गरिने छ ।’
सो क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएको भौतिक संरचना भत्काउने भनेर जारी भएको सूचना सर्वोच्च अदालतले शुक्रबार मात्रै कार्यान्वयन नगर्न उत्प्रेषणको आदेश दिएको थियो । पूर्वसांसदसमेत रहेकी विन्दवासिनी कंसाकारलगायत १३ जनाले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एक इजलाशले सडक विस्तारको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु भन्दै सडक डिभिजन कार्यालय हेटौंडाको नाममा आदेश दिएको थियो । सर्वोच्चको उक्त आदेश सडड डिभिजनलाई शुक्रबार रातिसम्म औपचारिकरूपमा नआएको कारण सडक किनारमा भएका घर/टहरालगायतका भौतिक संरचना शनिबार बिहानैदेखि भत्काइएको सीडीई अधिकारीले जानकारी दिए ।
‘हेटौँडा बजारमा सडक विस्तार गर्न रोक्न्नु वा नरोक्नु भन्ने कुन आदेश आएको हो सडक डिभिजनले अदालतको औपचारिक जानकारी पाएको/आएको छैन’, सीडीई अधिकारीले शनिबार आर्थिक दैनिकसित भने, ‘सडक डिभिजनले पूर्वसूचनाअनुसार नै काम गरेका हो । राजनीतिक दलका केही नेताहरूले विगतदेखि नै रोकेर राखेको सडक विस्तारको काम शनिबारदेखि सुरु भएको छ । अब भत्काउन पर्ने संरचना बाँकी छैन ।’
उक्त क्षेत्रको घर/टहरा भत्काउन पाइँदैन भन्दै उजुरी गर्ने पूर्वसांसद कंसाकारलगायत केही व्यक्तिको घर नभत्काइएको भनिए पनि सडक अतिक्रमण गरेर बनाइएका सबै घर/टरहामा डोजर लगाइएको सीडीई अधिकारीले जानकारी दिए । ‘हामीले पक्षपात नगरी सडक संरचना अतिक्रण गरेर बनाइएका सबै घरमा डोजर लगाएका छौँ । आइतबारदेखि नै अब सफाईको काम हुन्छ । सफाइको काम चाँडो सक्न नगरपालिकाको पनि सहयोग लिइने छ’, अधिकारीले भने ।
सडकको केन्द्रबिन्दुबाट २५/२५ गज (७५/७५ फिट) भित्र सडकको दायाँतर्फ दुई सय ३४ वटा र बायाँतर्फ दुई सय ९७ वटा घर, टहरा र संरचना भत्काइएको डिभिजनको भनाइ छ । सडक डिभिजनले हेटाडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म गरेर ५ सय ३१ वटा घर, टहरा तथा अन्य संरचनामा डोजर लगाएको हो । उक्त क्षेत्रमा बनेको घर/टहरा र अन्य भौतिक संरचना भत्काउन पाइँदैन भन्दै कमल थापागलायतका केही नेताहरूले संरक्षण गर्दै आएको थिए । हेटौँडाको उक्त क्षेत्रका घर भत्काउन नदिएर राजनीति गर्दै आएका नेताहरूको चुरीफुरी शनिबारदेखि समाप्त भएको छ ।
कडा सुरक्षा व्यवस्था गरी सडक विस्तार गर्न रोकिएका संरचनाहरू भत्काइएपछि पक्ष र विपक्षमा तर्कहरू आए पनि अब पुनः सो क्षेत्रमा नक्सापास गरेर घर निर्माण हुने सम्भावना सकिएको छ । सडक डिभिजनले सो क्षेत्रको सडक विस्तारका लागि घरटहरा र संरचना भत्काउन शनिबार आधा दर्जन बढी ठूला उपकरण प्रयोग गरेको थियो भने सुरक्षाकर्मीको बाक्लो उपस्थिति गरिएको थियो । साँझतिर केही पक्षले अवरोधको प्रयास गरे पनि सफल नभएको सीडीई अधिकारीको भनाइ छ । सडकमा सवारी आवागमन नै बन्द गरेर भौतिक संरचना भत्काउने काम गरिएको थियो । महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको कूल लम्बाई ८ दशमलव ५ किलोमिटर छ । सो क्षेत्रमा सडक साँघुरो भएको कारणसवारी आवागमनमा समस्या पर्दै आएको थियो ।