काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरुमा हानिएका चौकाहरुबापत दुई हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।
क्रिकेटलाई कक्षाकोठासँग र हरेक चौकालाई उज्ज्वल भविष्यसँग जोड्ने सामाजिक पहलअनुसार, यी सामग्रीहरु सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गरिने छन् । गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको यो प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ । एनपीएल सिजन २ का हरेक चौकामा ४ वटा शैक्षिक सामग्री वितरण गर्ने प्रतिबद्धता फाउन्डेसनले जनाएको छ । क्रिकेटको उत्साहलाई शिक्षासँग जोड्ने यो पहल, विद्यार्थीका लागि अर्थपूर्ण शैक्षिक सहयोग प्रदान गर्ने फाउन्डेसनको प्रतिबद्धताको एक प्रमाण हो । मंसिर १८ सम्म खेलिएका एनपीएल सिजन २ का खेलहरुमा ९० खेलाडीहरूले कुल ५१० चौका प्रहार गरेका छन्, जसले २ हजार ४० शैक्षिक सामग्रीहरुको वितरण सुनिश्चित गरेका छ । चौका प्रहार गर्ने शीर्ष तीन खेलाडीहरूको सूचीमा पोखरा अवेन्जर्सका एडम रोसिङटन २७ चौकासहित अगाडि छन्, जसले १०८ शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् । लुम्बिनी लायन्सका डार्सी सर्ट १९ चौकासहित दोस्रो स्थानमा रहेर ७६ शैक्षिक सामग्री योगदान गरेका छन् । त्यसैगरी काठमाडौँ गोर्खाजका बेन चाल्र्सवर्थ र सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारी तेस्रो स्थानमा छन्, उनीहरुले १७–१७ चौका प्रहार गर्दै प्रत्येकले ६८ शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् ।
यो पहलले शैक्षिक सामग्रीको वितरणमार्फत विद्यार्थीहरूको शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान दिने राखेको छ । विद्यार्थीहरूलाई प्रदान गरिने प्रत्येक किटमा झोलासहित कपी, पेन्सिल, शार्पनर, इरेजरलगायतका आवश्यक सामग्रीहरू समावेश हुनेछन् । यी सामग्रीहरूले विद्यार्थीहरूलाई पठन–पाठनका लागि आवश्यक स्रोतहरूको कमी घटाउन मद्दत गर्ने र उनीहरूको सिकाइमा योगदान पु¥याउने विश्वास गरिएको छ ।
गत वर्ष, एनपीएलको पहिलो सिजनमा प्रहार भएका छ सय ५३ चौकाबाट फाउन्डेसनले दुई हजार छ सय १२ भन्दा बढी शैक्षिक सामग्री प्रदान गर्ने प्रतिवद्धता जनाएको थियो । प्रतिवद्धताबमोजिम दुई हजार छ सय १२ सामग्रीसहित, फाउन्डेसनले देशभर नौ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गरेको थियो, जसले हजारौ विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्रीमार्फत सशक्त बनाएको छ । यो वर्ष पनि शैक्षिक सामग्रीहरूको वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकायहरू र साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको समन्वयमा गरिनेछ ।