काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम नेपाल)ले अमेरिकाको वासिङ्टन डिसीमा नेपालमा अमेरिकी लगानीका सम्भावनाका विषयमा उच्चस्तरीय छलफल गरेको छ ।
यूएस कर्मियल संस्थाहरुको सहयोगमा अमेरिकन चेम्बर अफ कमर्शको केन्द्रीय कार्यालयमा हालै भएको बैठकमा अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट, डिपार्टमेन्ट अफ कमर्श, कमर्सियल सर्भिसेस यूएस चेम्बर अफ कमर्सका वरिष्ठ प्रतिनिधिहरुको सहभागिता थियो । त्यस अवसरमा द्विपक्षीय व्यापार, आर्थिक कूटनीति, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि, विकसित प्रविधि, उत्पादनमुलक क्षेत्र र सेवामूलक उद्योगमा हुनसक्ने साझेदारी, सहकार्य र सम्भावनाबारे चर्चा गरिएको एमच्याम नेपालले जनाएको छ । एमच्यामले नेपालमा निजी क्षेत्रका लागि लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै जलविद्युत् क्षेत्रमा मात्रै १० अर्ब अमेरिकी डलर लगानीको सम्भावना प्रस्तुत गरेको थियो ।
एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित शाहले अमेरिकी चेम्बर अफ कमर्श इन नेपालको स्थापना विभिन्न अमेरिकी कम्पनीहरुको सहयोगमा भएको उल्लेख गरे । उनले एमच्याम नेपाल दुवै देशका लगानीकर्ताका लागि बलियो र प्रभावकारी माध्यम रहेको बताए । नेपाल र अमेरिकाका दुवै देशलाई फाइदा हुने गरी व्यापार र लगानीको ठूलो अवसर नेपालमा रहेको उल्लेख गर्दै शाहले ऊर्जा र प्रविधि, डिजिटल नवप्रवर्तनसँगै अन्य क्षेत्रमा पनि ठूलो अवसर रहेकोमा जोड दिए । शाहले दुवै देशले व्यापार र लगानी बढाउनका लागि देखिएका नियामकीय चुनौती, अवरोध हटाउन पनि जरुरी रहेको धारणा राखे ।
यूएस चेम्बर अफ कमर्शका निर्देशक प्याट्रिक पिटले नेपाल सरकारले आइसिटीको क्षेत्रमा देखाएको नीतिगत सुधार निकै राम्रो भएको बताए । ‘सरकारले नेपाली कम्पनीलाई अमेरिकामा सब्सिडरी कार्यालय खोल्न पनि बाटो खुलेको छ, यसले अमेरिकी निजी क्षेत्रलाई थप लगानी गर्नका लागि सहज भएको छ’, उनले भने । उनले पूर्वानुमान योग्य नियम, पारदर्शी कानुन तथा निरन्तर कार्यान्वयन अमेरिकी लगानीकर्तालाई आकर्षित गर्ने मुख्य तत्व भएको बताए ।
कार्यक्रममा एमच्याम नेपालले नेपालमा शतप्रतिशत नवीकरणीय ऊर्जा उत्पादन, डाटा सेन्टर र उच्च क्षमताका कम्प्युटिङ सुविधाका लागि रणनीतिक अवसर प्रस्तुत गरेको थियो । नेपालमा करिब ९२ प्रतिशत जलविद्युत् क्षमता अझै अविकसित अवस्थामा रहेको र यस क्षेत्रमा शतप्रतिशत वैदेशिक लगानीको अनुमति पनि रहेको बताइएको थियो । अमेरिकी पक्षले पनि क्षेत्री ऊर्जा सुरक्षामा नेपालले गर्नसक्ने योगदान तथा दीर्घकालीन, दिगो लगानीको सम्भावनाप्रति चासो व्यक्त गरेको थियो । साथै दुवै पक्षले अमेरिका–नेपाल जलविद्युत् लगानीको वेबिनार आयोजना गर्ने, अमेरिकाका विभिन्न सहरमा लगानीकर्ताले रोड–शो सञ्चालन गर्ने र अमेरिकी लगानीकर्तालाई बैंकयोग्य ऊर्जा परियोजनाको पोर्टफोलियो तयार गर्ने सहमति पनि भएको थियो ।
यसमार्फत एमच्याम नेपालको अनुदानदेखि व्यापारसम्म भन्ने दृष्टिकोण अझ समृद्ध भएको बताइएको छ । यसमार्फत दुवैतर्फ लगानी र व्यापार विस्तारमार्फत दुवै देशको समृद्धि अभिवृद्धि गर्ने लक्ष्यका साथ अगाडि बढाउन सहयोग पुग्ने उल्लेख छ ।