काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आमनागरिकको सहभागितामा निर्धारित समयमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को १६औँ वार्षिक साधारणसभामा उनले विशिष्ट परिस्थितिमा निर्माण भएको वर्तमान सरकार प्राप्त जिम्मेवारीबमोजिम निर्वाचनलाई केन्द्रमा राखेर सफलतापूर्वक सम्पन्न गर्ने पक्षमा होमिएको बताए । उनले तोकिएको समयमै निर्वाचन सम्पन्न नभएमा देश अनिश्चय तथा अस्थिरताको दिशातर्फ जानसक्ने उल्लेख गर्दै सुरक्षित एवम् भयरहित वातावरणबीच आम जनताको उल्लेखनीय सहभागितासहित निष्पक्ष चुनाव गराउन सरोकारवाता पक्षसँग छलफल भइरहेको जानकारी दिए । साथै, उनले अन्तरराष्ट्रिय जगत्ले नेपालको आर्थिक विकासप्रति राम्रो मूल्याड्ढन गरिरहेको बताए । आर्थिक प्रगतिका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताउँदै अर्थमन्त्री खनालले निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको भएको उल्लेख गरे । उनले निजी क्षेत्रमाथिको आक्रमण असह्य भएको उल्लेख गरे । निजी क्षेत्रको संरक्षण गर्न सबैले जोड दिनुपर्ने उनको भनाइ थियो ।
सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट हुनेगरेको अनावश्यक टीकाटिप्पणीका कारण समाज र राष्ट्रलाई सेवा गरौँ भन्ने असल व्यक्ति एवम् सङ्घसंस्थाहरू हतोत्साही हुने गरेको उनले बताए । उनले भने, ‘यदि कसैले अपराध नै गरेको छ भने त्यसको सजाय दिन सरकार तयार छ । विधि ठीक भएन भने सुधार गर्न सकिन्छ तर उद्यमीमाथि गलत कदम चालियो भने अर्थतन्त्रमा नकारात्मक असर पर्छ, सदैव देश र जनताका पक्षमा काम गरौँ ।’ मन्त्री खनालले राज्यका शक्तिशाली व्यक्तिहरुबाटै भ्रष्टाचार बढेपछि भएको जेन–जी आन्दोलनको भावनालाई समेटेर सुशासन तथा सेवाप्रवाह पारदर्शी बनाउन सरकार क्रियाशील रहेको बताए ।