काठमाडौ । थाइल्यान्डमा लुम्बिनी–नेपाल मिनी म्याराथन आयोजना गरिने भएको छ । विश्व शान्तिका दूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीलाई प्रचार प्रसार गर्ने लक्ष्यसहित उक्त म्याराथन आयोजना गर्न लागिएको हो ।
गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर २०८३ साल बैसाख महिनाको तेस्रो हप्ता (सन् २०२६ मे महिनाको पहिलो हप्ता) उक्त कार्यक्रम आयोजना गर्ने तयारी नेपाली दुतावासले गरेको छ । दुतावासका अनुसार यो प्रतियोगितामा १० किलोमिटर तथा पाँच किलोमिटर दौड समावेश गरिनेछ । उक्त कार्यक्रमको लागि आइतबार नेपाली राजदूतावास, थाइल्यान्डमा सरोकारवाला संघ संस्थाहरुको सहभागितामा एक छलफल कार्यक्रम आयोजना गरिएको थियो । छलफलमा नेपाल एयरलाइन्स, गैर–आवासीय नेपाली संघ–थाइल्यान्ड राष्ट्रिय समन्वय परिषद्, पिपुल अफ नेपाली ओरिजिन एसोसिएसन, थाइ–नेपाल संघ, थाइ–नेपाल फ्रेन्डसिप एसोसिएसन, संयुक्त राष्ट्र संघीय निकायहरूमा कार्यरत नेपालीहरु, वेस्टर्न युनियन, एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, किङ मुड्ढुट विश्वविद्यालयका प्राध्यापक–विद्यार्थी तथा थाइल्यान्डमा विभिन्न पेशा सञ्चालन गरिरहेका नेपाली उद्यमीहरुसहित म्याराथन सञ्चालन गर्ने थाइ नागरिकहरूको समेत सहभागिता रहेको थियो ।
कार्यक्रम आयोजनाको लागि थाइल्याण्डका लागि नेपाली महामहिम राजदूत धन बहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोति बहादुर श्रीसको संयोजकत्वमा थाइल्याण्डमा स्थापित नेपालसँग सम्बन्धित सबै संघ–संस्थाका प्रतिनिधिहरू समावेश हुनेगरी एक आयोजक समिति गठन गरिएको छ । कार्यक्रम व्यवस्थापनको लागि विभिन्न उपसमितिहरु गठन गरिएको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार म्याराथन कार्यक्रम विभिन्न मुलुकको पर्यटन प्रबद्र्धनको प्रभावकारी माध्यमका रूपमा स्थापित रहेको छ । यो कार्यक्रमले गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी, नेपाली पर्यटन, नेपाली परिकार तथा नेपालको साँस्कृतिक र निर्यातयोग्य वस्तुहरूको प्रचार–प्रसार गरी प्रभावकारी रुपमा नेपाल चिनाउने लक्ष्य राखिएको दुतावासद्वारा जारी विज्ञेप्तीमा उल्लेख छ ।