काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा प्रयोग हुने एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता)को नियमन गर्ने भएको छ । यसको लागि ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन’सम्बन्धी व्यवस्था गर्न लागिएको हो ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्ने एआई नियमनको लागि सरोकारवाला निकायहरूबाट राय सुझाव मागेको छ । आगामी पुस १५ भित्र लिखित वा इमेलमार्फत सुझाव मागिएको छ । प्रस्तावित गाइडलाइनअनुसार बैंक तथा वित्तीय संस्थाले प्रयोगमा रहेका एआई प्रणाली, जोखिम व्यवस्थापन अवस्था, साइबर सुरक्षा संरचना, ग्राहकमा पारेको प्रभाव तथा आगामी प्रविधि विस्तार योजनासहितको एआई गतिविधि प्रतिवेदन वर्षमा एक पटक सम्बन्धित सुपरीवेक्षण विभागमा बुझाउनुपर्नेछ ।
कुनै पनि किसिमका समस्या देखिएमा त्यसको रिपोर्टिङ तत्काल राष्ट्र बैंकमा गर्नुपर्नेछ । एआईले वित्तीय क्षेत्रमा कार्यक्षमता, जोखिम मूल्यांकन, धोखाधडी नियन्त्रण, सेवा वितरण र अनुपालनजस्ता कार्यहरूमा जोखम देखिएकोले गाइडलाइन आवश्यक रहेको राष्ट्र बैंकको निष्कर्ष छ । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी लघुवित्त, पूर्वाधार बैंक, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालकलगायत राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबै संस्थामा यसलाई लागू गर्ने राष्ट्र बैंकको तयारी छ ।
हाल क्रेडिट स्कोरिङ, फ्रड डिटेक्सन, जोखिम व्यवस्थापन, ग्राहक सहायता प्रणाली र नियमन अनुपालन निगरानीका क्रममा प्रयोग हुँदै आएका एआई मोडेल र प्लेटफर्म यसैको दायराभित्र रहने पनि गाइडलाइनमा उल्लेख रहेको राष्ट्र बैंकको भनाइ छ ।