काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले हचुवाका भरमा ठेक्का तोड्ने काम गरेको आरोप लगाएका छन् ।
१८औं राष्ट्रिय निर्माण दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले पछिल्लो समय सरकारले हचुवाका भरमा ठेक्का तोड्दा निर्माण उद्योग इतिहासकै सबैभन्दा कठीन मोडमा पुगेको बताए । निर्माण उद्योगको समस्यालाई राज्यले गम्भीर रूपमा नलिँदा एकपछि अर्को समस्या उत्पन्न भइरहेको उनको भनाइ छ । सार्वजनिक खरिद ऐनको दफा ५९ को उपदफा ३ र ८ मा रहेका अव्यवहारिक प्रावधानका कारण नै रुग्ण ठेक्काहरूको समस्या जटिल बनेको अध्यक्ष सिंहले बताए । निर्माण उद्योगमैत्री ऐन कानुनका लागि महासंघले लामो समय अघिदेखि खबरदारी गर्दै आए पनि समस्या समाधानका लागि सरकारले ठोस चासो नदेखाएको उनको आरोप छ । महासंघका महासचिव रोशन दाहालले निर्माण उद्योग अहिले मारमा परेकाले मुलुकको समग्र अर्थतन्त्र नै समस्यामा परेको बताए ।
कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले ठेक्का तोड्दैमा निर्माण उद्योगको समस्या समाधान नहुने बताए । वर्षौंको मेहनतपछि स्थापित निर्माण कम्पनी डुबेमा त्यसको असर राज्यलाई पर्ने उनको भनाइ थियो । उनले निर्माण व्यवसायीहरूलाई पनि व्यवसायीक रूपमा प्रस्तुत हुन सुझाव दिए । ऐन कानुनमा रहेका केही गलत प्रावधानका कारण निर्माण उद्योगमा समस्या देखिएको स्विकार गर्दै सचिव सिग्देलले ऐन, नियम तर्जुमा गर्दा आफूहरूलाई नै ‘बाइपास’ गर्ने गरिएको गुनासो गरेका थिए । महासंघले १८औं राष्ट्रिय निर्माण दिवसको उपलक्ष्यमा सोमबार राजधानीमा प्रभातफेरी तथा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाबाट सुरु भएको बाजा तथा झाँकीसहितको प्रभातफेरी थापाथली, माइतीघर मण्डला, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगरपुगि समापन भएको थियो ।
साथै, महासंघले सोमबार नै महासंघ सचिवालयमा एभरेस्ट अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो । उक्त कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरूलाई महासंघका अध्यक्ष रवि सिंह सहितका पदाधिकारीहरूले प्रमाणपत्र वितरण गरेका थिए । यस्तै महासंघकै प्रायोजनमा तिनकुनेस्थित निः सहाय सेवा सदनमा आश्रित वृद्धवृद्धालाई कम्बल वितरण पनि गरिएको छ । साथै, देशभरका जिल्ला निर्माण संघ तथा प्रदेश महासंघहरूले पनि १८औं राष्ट्रिय निर्माण दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरेका थिए । १८औं राष्ट्रिय निर्माण दिवसको उपलक्ष्यमा महासंघले गत शनिबार ‘एफक्यान रोड रेस’को पनि आयोजना गरेको थियो ।