भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवास्थित अरुण नदी किनारामा विसं २०७२ साल माघ महिनादेखि अवैध रुपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ ।
विगत लामो समयदेखि कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी चल्दै आएको उक्त उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराएको हो । जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले स्थलगत अनुगमनका क्रममा यो क्रसरले अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको जानकारी दिए । अन्य क्रसर उद्योगहरु अनुगमन भइरहेको उनको भनाइ छ ।
प्रमुख थुलुङले भने, “कानुन विपरीत रहेका क्रसर उद्योगलाई कानुनी दायरामा ल्याउन बन्द गराउँदै आएका छौँ । अनुगमनका क्रममा अवैध रुपमा सञ्चालनमा रहेको पाइएपछि लेगुवाघाटमा रहेको क्रसर उद्योगलाई बन्द गराएका छौँ ।” उनका अनुसार यो क्रसर उद्योगले अनधिकृत रुपमा नदी जन्यपदार्थ उन्खनन् गरेको पाइएको हुँदा आवश्यक कानुनी प्रक्रिया पूरा नगरेसम्म सञ्चालनको लागि रोक लगाइएको हो ।
विभिन्न व्यक्ति तथा समूहले अवैध रुपमा चलिरहेको उक्त क्रसर उद्योग सञ्चालनमा रोक लगाएपछि सञ्चालनको लागि दबाब दिइरहेको उनले बताए । “राज्यको सम्पत्ति दोहन गर्न पाइँदैन”, उनले भने, “सेबै क्रसर उद्योगलाई कानुनी दायरामा ल्याउनको लागि आवश्यक कदम अघि बढाएका छौँ ।”
जिल्ला अनुगमन समितिले नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उन्खनन् बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत सञ्चालनमा रहेको जनाएको छ । पक्की पुलबाट ५०० मिटर, सडक मार्ग, खोला किनाराबाट २०० मिटर र हाइटेन्सन लाइनभन्दा १०० मिटर टाढाको दुरीमा क्रसर सञ्चालन गर्नुपर्ने कानुनी प्रावधन रहे पनि यो उद्योगले कुनै पनि प्रक्रिया पूरा नगरेको अनुगमन समिमिले जनाएको छ ।
हाल यो क्रसर उद्योग लेगुवा–भोजपुर राजमार्गको पक्की पुलदेखि करिब ३०० मिटर उत्तर, अरुण नदी किनाराबाट ६० मिटरको दुरीमा सञ्चालनमा रहेको छ । बस्तीभन्दा ५०० मिटरभित्र भए बन्द गर्नुपर्ने प्रावधान रहेको छ । यो क्रसर उद्योग भोजपुरको लेगुवा बजार र धनकुटाको राम बजारबाट ३५० मिटरभित्र रहेको समितिको ठहर छ ।