काठमाडौं । ओम ब्लु लोटस हेल्थ होम प्रालिले आफ्नो पाँचौँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले ललितपुरमा सोमबार एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
नेपालमा अकुपञ्चरको विशेषज्ञ सेवा दिँदै आइरहेको नेपालको पहिलो र एकमात्र अकुपञ्चरको हस्पिटल ब्लु लोटस हस्पिटलको दोस्रो सिस्टर अर्गनाइजेसनको रूपमा ओम ब्लु लोटस हेल्थ होम स्थापना भएको हो । कार्यक्रमका संस्थाका अध्यक्ष तथा अकुपञ्चर विशेषज्ञ डा. सुरज कर्माचार्यले नेपालका सबै नागरिकले सहज र विशेषज्ञ स्तरको अकुपञ्चर सेवा प्रदान गर्नेगरी स्थापना गरिएको बताए । उनले उपचारको क्रममा कल्पना भन्दा निकै धेरै बिरामीहरूको विश्वास, माया र सद्भाव प्राप्त भएको अनुभव सुनाए । त्यस्तै, डा. प्रसिद्ध खड्गीले ब्लु लोटसले छोटो समयमा बिरामीमै केन्द्रित सेवा, अनुभवी चिकित्सक टीम र अनुशासित व्यवस्थापनबाट आम नागरिकमा विश्वास स्थापित गर्न सफल भएको उल्लेख गरे । कार्यक्रममा अकुपञ्चर क्षेत्रमा योगदान पुर्याउने चिकित्सक तथा कर्मचारीहरूलाई सम्मानपत्र वितरण गरिएको थियो । वर्षको उत्कृष्ट कर्मचारीको रूपमा सजिना भण्डारी र सर्वोत्कृष्ट कर्मचारीको रूपमा अस्मिता चौधरीलाई सम्मानित भएकी थिइन् ।
हेल्थ होमले विशेषगरी हड्डी खिइएको, नसा च्यापिएको, ढाड, कम्मर, गर्दन दुख्ने, हातखुट्टा झमझमाउने, पोल्ने, सिल्ला हान्ने, गल्ने, जोर्नी दुख्ने, माइग्रेन तथा टाउको दुख्नेलगायतका सयौँ प्रकारका रोगहरूको अकुपञ्चर र फिजियोथेरापी विशेषज्ञ चिकित्सकहरूमार्फत निरन्तर सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक बद्रीबहादुर कार्कीको उपस्थितिमा विभिन्न शाखाका चिकित्सक, प्रशासनिक अधिकृत र कर्मचारीहरूसहित संस्थाका सबै कर्मचारीहरूले सहभागिता जनाएका थिए ।