काठमाडौं । नेपालमा बाल क्यान्सर हेरचाहलाई अझ प्रभावकारी, करुणामय र परिवार केन्द्रित बनाउन सरोकारवाला संस्थाहरूले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
राजधानीमा सोमबार आयोजित ‘क्यान्सर सर्भाइभरसिप’ तथा ‘पेडियाट्रिक प्यालियटिभ केयर’ (बाल चिकित्सा प्रशामक सेवा) विषयमा केन्द्रित बैठकमा उनीहरूले सो प्रतिबद्धता जनाएका हुन् । कान्तिबाल अस्पतालको आयोजनामा बसेको सो बैठकले क्यान्सरसँग संघर्ष÷लडाइँ अनुभव गरेका बालबालिका, अभिभावक, स्वास्थ्यकर्मी, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरोकारवाला संस्थालाई एकै मञ्चमा ल्याई कथा सुन्न, चुनौती पहिचान गर्न र आगामी कदम तय गर्न सहयोग पुगेको बताइएको छ । बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, नेपाल बाल रोग विशेषज्ञ समाज, भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विभिन्न बाल क्यान्सर उपचार इकाइका प्रतिनिधि तथा अन्य साझेदार संस्थाहरूको उपस्थिति थियो । नेपाल चाइल्डहुड क्यान्सर एलायन्सको सहयोग तथा रमेश गुप्ता मेमोरियल ट्रस्ट र वल्र्ड चाइल्ड क्यान्सरद्वारा सञ्चालित ‘ब्रेथ’ परियोजनाअन्तर्गत सम्पन्न बैठकमा क्यान्सरबाट बचेकाहरूको अनुभव, अभिभावकका चुनौती र स्वास्थ्यकर्मीहरूको प्यालियटिभ केयरसम्बन्धी प्रस्तुति एवं जानकारी आदान प्रदान गरिएको थियो ।