काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको कार्यभार फेरि आज बुधबारदेखि हितेन्द्रदेव शाक्यले नै सम्हाल्ने भएका छन् । सर्वोच्च अदालतबाट पद सुनिश्चित भएपछि हितेन्द्र प्राधिकरण फर्किने भएका हुन् ।
भदौ २३ र २४ को जेन—जी आन्दोलनपछि बनेको वर्तमान सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले उनलाई जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञका रुपमा सरुवा गरिदिएको थियो । तर यसमा असन्तुष्ट शाक्यले सर्वोच्च गुहारेका थिए । शाक्यले आफूलाई कार्यकाल बाँकी हुँदै कानुनविपरीत हटाइएको भन्दै सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार शाक्यको पक्षमा परमादेश जारी गरेपछि हितेन्द्रको प्राधिकरण नेतृत्वमा पुनरागमन जुरेको हो । यता हाल प्राधिकरणको नेतृत्वमा रहेका मनोज सिलवाल भने बिदामा बसेको प्राधिकरण स्रोतले जनाएको छ ।
सिलवाललाई ऊर्जामन्त्री घिसिङले गत असोज ५ मा प्राधिकरणको कार्यकारी निर्देशक बनाएका थिए । उद्योगीहरूसँगको बक्यौता जसरी पनि उठाउने अडान लिँदै आएका घिसिङले नै उनलाई प्राधिकरणको नेतृत्व दिएका थिए । यसअघि तत्कालीन ओली सरकारको पालामा घिसिङलाई प्राधिकरणको नेतृत्वबाट हटाएर शाक्यलाई जिम्मेवारी दिइएको थियो । सर्वोच्चको परमादेशमा शाक्यलाई तत्कालै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्बहाल गर्न भनिएको छ ।
योसँगै पुनर्बहाल भएका शाक्यले बुधबार प्राधिकरणको केन्द्रीय कार्यालयमा आफ्नो कार्यभार सम्हाल्ने तयारी छ । शाक्यलाई बुधबार स्वागतको तयारी भएको प्राधिकरणका एक कर्मचारीको भनाइ छ ।