काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र नभई सुशासनका लागि पनि बनेको बताउनुभएको छ ।
भ्रष्टाचारविरुद्धको २२औं अन्तरराष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सुशासनको माग राखेर भएको जेन–जी आन्दोलनको जगमा बनेको सरकार भएकाले आफूहरूले नियमित कार्यसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको बताइन् । जेन–जीका माग र अपेक्षा बमोजिमका आशातित उपलब्धि हासिल हुन समय लाग्ने भएपनि भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार रहेको उनको भनाइ थियो । यसका लगि राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेको उनले जानकारी दिइन् । उनले सरकारले सुशासनका पक्षमा चालेका कदमबाट अत्तालिएर कतिपय तत्वले प्रत्यक्ष वा परोक्ष रूपमा धम्क्याए पनि आफूहरू नडराउने बताइन् । साथै, उनले कति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न सरोकारवालाहरूलाई आग्रह गरिन् ।
‘भ्रष्टाचार टाठाबाठा र शक्तिशाली व्यक्तिले गर्ने अपराध भएकाले यसको अनुसन्धानमा जटिलता छ । प्रविधिको विकाससँगै भ्रष्टाचारको शैली र प्रवृत्ति फेरिएको छ । यद्यपि, भ्रष्टाचारविरुद्ध विद्यमान कानुन कार्यान्वयन गर्न, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत क्षमता बढाउन, सरोकारवाला निकायहरूसँग सहकार्य गर्न सरकार सधैँ तयार छ’, उनले भनिन् ।
सुशासन कायम गरी सेवाग्राहीहरूलाई सर्वसुलभ ढङ्गबाट सेवा प्रवाह गर्नु राज्यको प्रमुख दायित्व रहेको उल्लेख गर्दै उनले त्यसका लागि भ्रष्टाचार निवारण अनिवार्य सर्त भएको बताइन् । भ्रष्टाचार नियन्त्रणको काम कुनै एउटा निकायको मात्र जिम्मेवारी नभएर सबैको दायित्व भएको उनको भनाइ छ । ‘गत भदौ २३ र २४ गते सडकबाट युवाले भ्रष्टाचारविरुद्धको आवाज उठाएका छन्, हामी सरकारी अड्डामा बस्नेहरूप्रति जनताको आक्रोश, विरोध र वितृष्णा छ कि छैन, सो कुराको समेत विचार पु¥याउनुपर्नेछ’, उनले भनिन्, । जनताका काममा अनावश्यक ढिलासुस्ती गर्ने, जिम्मेवारीबाट पन्छिने, मोलाहिजा गर्ने, अनुचित लाभ लिने, राज्यलाई हानि–नोक्सानी पु¥याउने कार्य कुनै पनि बहानामा सह्य हुन सक्दैनन् ।
हाल भ्रष्टाचारविरुद्ध नागरिक तहमा अभूतपूर्व जागरण देखिएको उनको भनाइ छ । सामाजिक न्याय, समृद्धि र सुशासनका लागि पनि भ्रष्टाचारको अन्त्य आवश्यक रहेको उनले बताइन् । भ्रष्टाचारको अन्त्यका लागि तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चारजगत् एवं आम नागरिक सबैको निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।