काठमाडौं । एनसेलले नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउन थालेको छ । कम्पनीले आम उपभोक्ताहरूको सुविधाका लागि सोमबारबाट नयाँ नम्बर वितरण गर्न थालेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो नम्बर रेन्जको नम्बरहरू वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो । यो नयाँ नम्बर रेन्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ वितरण योजना (नेशनल नम्बरिङ अलोकेसन प्लान)को नियमअनुरूप जारी भएको हो । प्राधिकरणद्वारा एनसेललाई जारी नम्बर रेन्ज ९८०, ९८१, ९८२, ९७० मार्फत सेवाग्राहीहरूका लागि सेवा प्रदान गर्नका लागि मोबाइल नम्बरहरू अपुग भएकोले नयाँ नम्बर रेन्ज प्रदान गरिएको थियो । ‘बजारको अवस्थालाई ध्यानमा राखी नयाँ नम्बर रेन्जको अनुमति प्रदान गरेकोमा हामी प्राधिकरणप्रति आभारी छौँ । आवश्यक तयारीपश्चात् नयाँ नम्बर रेन्जका नम्बरहरू वितरण थालिएको छ । साधारण सञ्चार सेवाबाहेक डिजिटल कारोबार र विभिन्न सेवाहरू मोबाइलमार्फत नै लिने क्रम बढिरहेको हालको अवस्थामा नयाँ नम्बरहरूले उपझोक्ताका साथै सेवा प्रदायकहरूलाई समेत लाभ प्रदान गर्नेछ’, एनसेलका चीफ कन्जुमर विजनेस अफिसर उपङ् दत्तले भने ।
नयाँ नम्बरहरू वितरणसँगै एनसेलले प्रत्यक्ष अथवा अप्रत्यक्षरूपमा मोबाइल प्रणालीमा आबद्ध भई विभिन्न प्रकारका सेवा तथा सुविधा प्रदान गर्ने सरकारी तथा गैरसरकारी संस्था, सेवाप्रदायक कम्पनी, कार्यलय, बैंक तथा वित्तीय संस्थाहरूलाई यो नयाँ नम्बर रेन्ज आ–आफ्नो प्रणालीमा इन्ट्रिगेट÷अपडेट गर्न बाँकी रहेको भए चाँडै गर्ने अनुरोध पनि गरेको छ । चुस्त सेवा प्रवाहका लागि सेवा प्रदायकहरूले आफ्नो प्रणालीमा नयाँ नम्बर रेन्ज इन्ट्रिगेट/अपडेट गर्न आवश्यक रहेको कम्पनीले जनाएको छ ।