काठमाडौं । नेपाल उद्योग परिसंघ र सामाजिक सुरक्षा कोषबीच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउन र श्रमिकलाई योजनामा आबद्ध गराउन प्रोत्साहन गर्न दुई संस्थाबीच समझदारी भएको हो । समझदारीपत्रमा परिसंघका तर्फबाट महानिर्देशक डा. घनश्याम ओझा तथा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन् । परिसंघ सचिवालयमा परिसंघ र सामाजिक सुरक्षा कोषले संयुक्तरूपमा आयोजना गरेको सामाजिक सुरक्षाबारे अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यस सहकार्यअन्तर्गत परिसंघले आफ्ना सदस्य उद्योगहरूलाई सामाजिक सुरक्षा योजनामा जोड्न सहयोग गर्न, देशभर सचेतना कार्यक्रम सञ्चालनमा गर्न, आवश्यक जानकारी उपलब्ध गराउन तथा श्रमिकका दीर्घकालीन हित सुनिश्चित गर्नेछ । कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले यो सहकार्य श्रमिक र उद्योग दुवैका लागि अत्यन्त महत्वपूर्ण भएको बताए । उनले उद्योगीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै, यो साझेदारीले सामाजिक सुरक्षा प्रणालीलाई अझ व्यावहारिक र पहुँचयोग्य बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले सामाजिक सुरक्षा कोष श्रमिकको जीवन सहज र सुरक्षित बनाउने एक महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस समझदारीले सबै क्षेत्रका श्रमिक र रोजगारदाताको सक्रिय सहभागिता अभिवृद्धि गर्न र दर्ता प्रणालीमा समाहित हुन सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा परिसंघका उपाध्यक्ष भीम घिमिरेले सामाजिक सुरक्षा कोष कल्याण कार्यक्रम मात्र नभएर मानव पुँजी विकासको मुख्य आधार रहेको बताए । उनले परिसंघले यस्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम प्रदेश स्तरमा पनि बृहत् रूपमा सञ्चालन गर्ने जानकारी दिए ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकरीले सामाजिक सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउँदै लैजान र श्रमिकका सुविधाहरूलाई विस्तार गर्दै लैजान यो सहकार्य महत्वपूर्ण रहेको बताए । कार्यक्रममा सामाजिक सुरक्षा कोषका पूर्वसञ्चालक समिति सदस्य तथा परिसंघको रोजगारदाता परिषद्का सभापति धुव्र रिजाल, सामाजिक सुरक्षा कोषका सञ्चालक समिति सदस्य तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगतबहादुर सिँखडालगायत अन्य आबद्ध महासंघका पदाधिकारीहरू, सामाजिक सुरक्षा कोषका प्रतिनिधिहरू, रोजगारदाता परिषद्का सदस्यहरू, उद्योगी व्यवसायी प्रतिनिधिहरूलगायत उपस्थित थिए ।