काठमाडौँ । महाधिवेशनका सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव गोकर्णराज विष्टले पार्टीको आसन्न ११औँ महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखिएका मुद्धालाई सम्बोधन गर्नेगरी नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् ।
यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक भएको बताउँदै सचिव विष्टले महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखिएका मुद्धालाई सम्बोधन गर्दै सामूहिक नेतृत्व दिने विश्वास व्यक्त गरे ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूहबाट आफूहरू प्रतिस्पर्धामा उत्रने जानकारी दिदै सचिव विष्टले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा एकता र सहमतिका साथ पार्टीको नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । पार्टीको केन्द्रीय नेतृत्वमा ४० वर्षमुनिका प्रतिनिधिको उल्लेख्य उपस्थितिका लागि र नयाँ राजनीतिक घटनाक्रमबारे महाधिवेशनमा छलफल गर्न प्रतिनिधिहरू सार्वभौम रहेका उनले स्पष्ट गरे ।
कार्यक्रममा कृष्ण राई, सुरेन्द्र मानन्धर, अरविन्दा सिंहलगायत नेताहरूले नेतृत्व पुस्तान्तरण र हस्तान्तरणमा जोड दिएका थिए । एमालेको ११ औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ ।