काठमाडौँ– काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (KUSOM) ले डिसेम्बर ६ देखि ८ सम्म आयोजना गरेको १२औँ TTRA एशिया–प्रशान्त वार्षिक सम्मेलन २०२५ ‘Regenerative Travel and Tourism Research in the Asia Pacific’ विषयका साथ सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनले विभिन्न देशका पर्यटन विज्ञ, शोधकर्ता र उद्योगका अगुवाहरूलाई एउटै मञ्चमा ल्याएर नेपालमा पुनरुत्थानशील पर्यटनबारे महत्वपूर्ण बहसको वातावरण बनाएको छ। यो वर्षको सम्मेलनमा नेपाल, हङकङ, जापान, भारत, अमेरिका, ताइवान, थाइल्यान्ड, यूएई, चीन, मकाउ, भियतनाम, मलेसिया र ब्रुनाईका प्रतिष्ठित विश्वविद्यालय तथा संस्थाबाट आएका प्रतिनिधिहरू सहभागी भएका थिए। ४० भन्दा बढी अनुसन्धानकर्ताले आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए, जसले एशिया–प्रशान्त क्षेत्रमा पर्यटन अनुसन्धान र सहकार्यलाई थप मजबुत बनाएको छ। दुई दिनसम्म चलेको सम्मेलनमा मुख्य सम्भाषण, समानान्तर सत्र, विशेषज्ञ मञ्च, प्यानल छलफल र अनुभवमा आधारित सिकाइ कार्यक्रमहरूको राम्रो संयोजन रहेको थियो। सहभागीहरूले पुनरुत्थानशील पर्यटन, प्रविधिमूलक नवप्रवर्तन, ग्लोबल साउथमा दिगो विकास तथा बदलिँदो पर्यटक व्यवहारजस्ता मुद्दामा गहन छलफल गरेका थिए। कार्यक्रममा प्रा. शिआङ (रोबर्ट) ली, डा. आरोन थाम, एसोसिएट प्रा. डा. तारिक डोगरु, WWF–नेपालका डा. घनश्याम गुरुङ, एसोसिएट प्रा. डा. सोजन प्रधान र दिगो पर्यटन विज्ञ सुश्री लिसा चोग्याल जस्ता अन्तर्राष्ट्रिय विशेषज्ञहरूको उपस्थिति रहेको थियो। लेगेसी प्रोजेक्ट आवरमा WWF–नेपाल, स्टोरी साइकल र प्रकृति रिसोर्ट एन्ड अर्गानिक फार्मका प्रतिनिधिहरूले नेपालमा भइरहेका दिगो तथा पुनरुत्थानशील पर्यटनका उत्कृष्ट अभ्यासहरू प्रस्तुत गरेका थिए। सम्मेलनपछि अन्तर्राष्ट्रिय सहभागीहरुले पाटन दरबार स्क्वायरको सांस्कृतिक अनुभव पनि लिएका थिए। KUSOM का डीन तथा सम्मेलन अध्यक्ष प्रा. डा. विजय के. सी. ले पर्यटन नेपालका लागि सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै विद्यालयले पर्यटन तथा आतिथ्य शिक्षामा आफ्नो संलग्नता थप विस्तार गर्ने बताए। अहिले विद्यालयले आतिथ्य र उड्डयन व्यवस्थापनमा स्नातक कार्यक्रम सञ्चालन गरिरहेको छ भने अनुभव–आधारित सिकाइ र नवप्रवर्तनमा जोडसहित स्नातकोत्तर कार्यक्रम सुरु गर्ने तयारी भइरहेको छ। यो सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने WTO चेयर्स प्रोग्राम नेपाल, नेपाल पर्यटन बोर्ड, एस्पायर कलेज विराटनगर, लिटिल एन्जलस कलेज अफ म्यानेजमेन्ट, GATE, नेपाल कलेज अफ म्यानेजमेन्ट, नबिल बैंक, काठमाडौँ मेरियट होटल र ग्लेशियर एजुकेशनल फाउन्डेशनप्रति KUSOM ले आभार व्यक्त गरेको छ। नेपालमा पुनरुत्थानशील पर्यटन प्रवर्द्धनका विषयमा यस्तो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न हुनु देशको पर्यटन अनुसन्धान, नीति निर्माण र व्यवहारिक अभ्यासलाई नयाँ दिशामा अघि बढाउने महत्त्वपूर्ण उपलब्धि मानिएको छ।