सर्लाही, सर्लाहीमा १ हजार दरका ९५ थान नक्कली नोटसहित एक युवक पक्राउ परेका छन्। बुधबार राति करिब ९:२० बजे बिष्णु गाउँपालिका–६ स्थित प्रहरी चेकपोष्टमा नियमित चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय फेन्हाराबाट खटिएको टोलीले युवकलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ परेका व्यक्ति कौडेना गाउँपालिका–५, छपकैया बस्ने ३० वर्षीय फिरोज खान हुन्। भारततर्फबाट सिमरा दिशातर्फ अन्टेस्ट मोटरसाइकलमा आउँदै गरेका खानलाई शंका लागेपछि प्रहरीले रोकेर तलासी लिँदाका क्रममा १ हजार दरका ९५ वटा नक्कली नोट बरामद भएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।