काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले भिजिट तथा पर्यटन भिसामा वदनियतपूर्वक सेटिङ गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसहित सात जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । सो प्रकरणमा संलग्नमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।
अख्तियारले अधिकृत भट्टराईसहित विमानस्थलका तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्याल, बाल कृष्ण खड्का, दिपक भण्डारी, राम खड्का, कविता पौडेल र खेमप्रसाद सुवेदीलाई प्रतिवादी कायम गरी मुद्दा दायर गरेको हो । अख्तियारले ग्रीनलाइन होलिडेज र फेमली होलिडेज ट्राभल्स एण्ड टुर्स प्रालिाई समेत प्रतिवादी बनाएको छ । ग्रीनलाइन होलिडेजका अध्यक्ष खड्का र फेमली होलिडेज ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक भण्डारी हुन् ।
भट्टराईलाई ७९ लाख, अरुलाई कति बिगो ?
तिर्थराज भट्टराई, यज्ञ राज अर्याल, बाल कृष्ण खड्का, दिपक भण्डारी, राम खड्का, कविता पौडेल र खेम प्रसाद सुवेदीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुर गरेको भन्दै कैद र जरिबाना माग गरिएको छ ।
सो क्रममा भट्टराईलाई ७९ लाख ८० हजार, यज्ञराज अर्याललाई आठ लाख, कृष्ण खड्कालाई ३० लाख २० हजार, दिपक भण्डारीलाई १० लाख ६० हजार, राम खड्कालाई ३० लाख २० हजार बिगो माग गर्दै मुद्दा दायर गरिएको छ । कविता पौडेललाई ७९ लाख ८० हजार र खेमप्रसाद सुवेदीलाई ७९ लाख ८० हजार बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।
तिर्थराज भट्टराई, कविता पौडेल र खेम प्रसाद सुवेदीलाई भने सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा ३ बमोजिमको कसुर गरेको पुष्टि भएको भनी सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा समेत दायर गरिएको छ ।
यसरी गर्थे भ्रष्टाचार
अख्यितरका अनुसार करिब आठ महिना अध्यागमन अधिकृतको रूपमा कार्यरत रहँदा भट्टराईले गैरकानुनी क्रियाकलाप गरी यात्रुहरूलाई दुख दिने काम गरेको थिए । २०८१ असोज २३ जिम्मेवारी सम्हालेका अधिकृत भट्टराईले २०८२ जेठ ७ गतेको अवधिमा भिजिट तथा पर्यटन भिसामा विदेश यात्रामा आवश्यक पर्ने कागजातहरूसम्बन्धी जारी भएको निर्देशनको प्रक्रिया अनुशरण गरी यात्रु प्रस्थान गर्दा पेस गर्नुपर्ने सम्पूर्ण कागजातहरू अध्यागमन प्रणालीमा अपलोड गरी अभिलेखीकरण गर्नु÷गराउनु पर्नेमा सो काम नगरी गैरकानुनी गतिवधि गरेको र दुःख दिने काम गरेका थिए ।
भिजिट भिसामा विदेश जाने नेपाली यात्रुहरूलाई दुःख हैरानी दिई यात्रुहरूबाट घुस /रिसवतबापत थप रकम लिई खाने खुवाउने मनसायले आफ्नो जिम्मेवारीसँग स्वार्थ बाझिने काम अधिकृत भट्टराईले गरेको अख्तियारले जनाएको छ । उनलाई भिजिट भिसामा विदेश जाने नेपाली यात्रुहरूलाई दुःख हैरानी दिई यात्रुहरूबाट घुस÷रिसवतबापत थप रकम लिन सहजीकरण गर्ने व्यक्तिहरू भने बालकृष्ण खड्का तथा दिपक भण्डारी रहेका थिए ।
भट्टराईले बालकृष्ण खड्का तथा दिपक भण्डारी समेतसँग नियमित सम्पर्क भेटघाट गर्ने, निजहरूबाट उपहार लिने, मोबाइललगायतका सामानहरू खरिद गराउने गरेको पाइएको छ ।
भट्टराईले पार्सलका नाममा बालकृष्ण खड्का समेतको भेनोलिभा रेष्टुरेण्टमा गई राम खड्काबाट घुस रिसवतबापतको रकम नै लिएको, बाल कृष्ण खड्का तथा दिपक भण्डारीले विभिन्न माध्यमबाट टिपाएका विदेश जाने यात्रुहरूको नाम आफ्नो डायरीमा पटक–पटक टिपोट गरी सोबापत प्राप्त हुने घुस रिसवतको रकमको हिसाबकिताब राख्ने गरेको अख्तियारले जनाएको छ ।
भट्टराईले आफ्नो कार्यालयको प्रशासन शाखामा काम गर्ने अध्यागमन अधिकृत यज्ञराज अर्याललाई आफ्नो घरमा बोलाई घुस रिसवतबापतको आठ लाख दिएका थिए ।
भट्टराईले गैरकानुनी गतिवधिका लागि कविता पौडेलको नाममा रहेको मोबाइल सिम प्रयोग गरी बदनियतपूर्वक सेटिङ गरी भिजिट भिसाका यात्रुहरूको नामावली आदानप्रदान गर्न सो सिमलाई नै अधिकरूपमा प्रयोग गर्नेगरेको अख्तियारले फेला पारेको छ ।
अधिकृत भट्टराईले बालकृष्ण खड्का, दिपक भण्डारीहरूको मिलेमतोमा विभिन्न माध्यमबाट सेटिङमार्फत भिजिट भिसामा विदेश जाने यात्रुहरूको नामावली प्राप्त गर्ने, उक्त नामावलीहरूलाई विभिन्न डायरीहरूमा यात्रुहरूका नामावली, गन्तव्य मुलुक, प्रस्थान मिति समेतका विवरण टिपी उल्लिखित पानाहरूमा सांकेतिकरूपमा हिसाबकिताब समेत राखी घुस रिसवत लिने एवं सोमध्ये केही घुस रिसवतको रकम अध्यागमन अधिकृतहरूबीच बाँडफाँट गर्ने, उक्त घुस रिसवतबाट प्राप्त ठूलो रकम कविता पौडेलको नाममा जग्गा कारोबारी समेत रहेका खेम प्रसाद सुवेदीमार्फत जग्गा खरिद गराइदिने काम समेत उनीहरूले गरेको पाइएको छ ।
प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी निर्वाह गरेको अवधिमा तिर्थराज भट्टराईले घुस कम र गैरकानुनी रूपमा सम्पत्ति आर्जनको लागि सयौँ पटक फोन संवाद समेत गरेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार भट्टराईले कविता पौडेलसँग आठ सय ५८ पटक, बाल कृष्ण खड्कासँग एक सय १८ पटक, दिपक भण्डारीसँग दुई सय ५३ पटक र खेमप्रसाद सुवेदीसँग ५३ पटक फोन वार्ता गरेका थिए ।