प्रभु म्यानेजमेन्ट प्रालि २०६९/२/२१ गते विभिन्न उद्देश्यहरु लिई कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई स्थापना भएको कम्पनी हो । प्रभु म्यानेजमेन्ट प्रालि, प्रभु मनी ट्रान्सफरको एजेन्ट भई विप्रेषणको भुक्तानी दिने कार्य सुरु गरेको हो । स्थापनाकालमा म देवीप्रकाश भट्टचनको पचास लाख रुपैयाँ, विनोद थकालीको बीस लाख रुपैयाँ, कुसुम लामाको बीस लाख रुपैयाँ, दक्ष पौडेल सुभाषको दश लाख रुपैयाँ लगानी गरी कम्पनी स्थापना भएको हो । स्थापनाकालमा बिनोद थकाली अध्यक्ष थिए ।
मितिः २०७०/१/५ देखि २०७१/९/१३सम्म अध्यक्ष रहेको थिएँ । सोपश्चात् मैले आफ्नो नामको सेयर मिजाश भट्टचनको नाममा नामसारी गरी मैले प्रभु म्यानेजमेन्ट छाडेको हुँ । प्रभु ग्रुपअन्तर्गत प्रभु मनी ट्रान्सफर, प्रभु बैंक लि., प्रभु महालक्ष्मी इन्स्योरेन्स लि. रहेका छन् । म प्रभु बैंक लि. मा २०७१ साल देखि २०७७ सालसम्म प्रभु बैंक लि.को सञ्चालक समितिको अध्यक्ष भई काम गरेको थिएँ ।
प्रभु मनी ट्रान्सफर प्रा.लि.ले सम्बन्धित देशमा केन्द्रीय बैंकबाट लाइसेन्स प्राप्त मनी ट्रान्सफरसँग विप्रेषण भित्र्याउनको लागि सम्झौता गरेको छ । सोही सम्झौता अनुसार नेपालमा रकम पठाउन चाहने व्यक्ति सम्बन्धित देशमा केन्द्रीय बैंकबाट लाइसेन्स प्राप्त मनी ट्रान्सफरमा गई रकम जम्मा गर्ने गर्छन् । सो मनी ट्रान्सफरले पैसा प्राप्त गर्ने व्यक्तिको नाम, ठेगाना, फोन नं. र कोड नं. प्रभु मनी ट्रान्सफरको सिस्टममा पठाउँछ । सो कोड नं. लिई आउने व्यक्तिलाई प्रभु मनी ट्रान्सफरका एजेन्टहरुले पैसा प्राप्त गर्ने व्यक्तिको नाम, ठेगाना, फोन नं. र कोड नं. यकिन गरी भुक्तानी दिने गर्दछ ।
विदेशी एजेन्टहरुले विप्रेषणवापतको सोधभर्ना प्रभु मनी ट्रान्सफरको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. र प्रभु बैंक लि.को खातामा रकम जम्मा गरिदिने गर्दछन् । प्रभु मनी ट्रान्सफरको विप्रेषण भुक्तानीको लागि हाल के कति सब–एजेन्टहरु छन्, हाल मलाई यकिन छैन । सब–एजेन्टहरु थपघट भइरहेका हुन्छन् । विप्रेषण भुक्तानीवापतको रकम सब–एजेन्टले भुक्तानी दिएको दिनको भोलिपल्ट दिइने गरिन्छ ।
भोलिपल्ट बिदा परेमा कार्यालय खुलेको दिनमा भुक्तानी दिने गरिन्छ । प्रभु मनि ट्रानसफर प्रालिमा २०१५ जुन ८मा प्रभु मनी ट्रान्सफरको जिम्मेवारी बाँडफाड गरी आफूलाई ‘अल अफिस म्याटर्स’ भनी जिम्मेवार बनाएको देखिने पत्र देखाउँदा देखेँ । उक्त पत्रमा जिम्मेवारी बाडफाँड गर्ने व्यक्ति म नै हुँ । सोमा भएको दस्तखत मेरो आफ्नै हो । मैले आफूलाई प्रभु मनी ट्रान्सफर प्रालिको सम्पूर्ण काम गर्ने अधिकार तोकेको हुँ ।
मसँगै रामेश्वर सापकोटालाई कार्यालयको सम्पूर्ण काम गर्ने गरी तोकेको थिएँ । सोबाहेक अन्य कर्मचारीहरुलाई समेत कार्यालय सुव्यवस्थित रुपमा सञ्चालन गर्नको लागि अधिकार प्रत्यायोजन गरी जिम्मेवारी तोकेको हुँ । मैले प्रभु मनी ट्रान्सफर प्रालिको सम्पूर्ण दैनिक काम कारबाहीको अधिकार नायव महाप्रबन्धक रामेश्वर सापकोटालाई दिएको थिएँ । सोही अनुसार निज रामेश्वर सापकोटाले करार नियम अनुसार प्रभु म्यानेजमेन्ट प्रालि र प्रभु मनी ट्रान्सफर प्रालिको सहमतिमा प्रभु म्यानेजमेन्ट प्रालिलाई सुपर एजेन्टको रूपमा सम्झौता गरेको हुनुपर्छ ।
कम्पनीमा रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्दा मनि ट्रान्सफर कम्पनी तथा आन्तरिक मनि ट्रान्सफर कम्पनीको सब–एजेन्ट भई काम गर्ने भनी प्रभु म्यानेजमेन्ट कम्पनी दर्ता भएको हुँदा एजेन्ट भई काम गर्न सक्दछ । तत्कालीन समयमा हिमालयन बैंक लि.ले पनि कन्टिनेन्टल फाइनान्सियल कम्पनीहरुलाई सोही मोडलमा सब–एजेन्ट नियुक्त गरी काम गर्ने गरेको हुँदा सोही अनुसार प्रभु म्यानेजमेन्टलाई जिम्मा दिइएको हो ।
मनि ट्रान्सफर कम्पनीले सब–एजेन्ट/सब–रिप्रेजेन्टेटिभबीचमा अन्य तह वा संरचना बनाई विप्रेषणको कारोबार गर्न पाउने/नपाउने विषयमा नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागबाट मितिः २०८१/६/३० गते जारी संशोधन ‘एकीकृत परिपत्र– २४/२०८० मा संशोधन/परिमार्जन/थप’को क्र.स. ३२ (१) मा विद्यमान अवस्था खण्डमा ‘(हाल नभएको)’ र संशोधित व्यवस्था खण्डमा ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ को विनियम ३५(१)’ को व्यवस्था बाहेक इजाजतपत्र प्राप्त विप्रेषण कम्पनी र सब–एजेन्ट/सब–रिप्रेजेन्टेटिभबीचमा अन्य तह वा संरचना बनाउन पाइने छैन भनी संसोधन जारी गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट २०८१ सालको वैशाख/जेठमा प्रभु मनी ट्रान्सफरको निरीक्षणको क्रममा सो सम्बन्धमा सुधार गर्नु भनेपश्चात सो संशोधन जारी अगावै मितिः २०८१/३/१५ गतेदेखि प्रभु म्यानेज्मेन्ट प्रालिसँगको कारोबारलाई बन्द गरिएको थियो । प्रभु मनी ट्रान्सफर प्रालि. र प्रभु म्यानेजमेन्ट प्रालिबीच रेमिट्यान्स कारोबार गर्ने सम्झौता प्रभु मनी ट्रान्सफर प्रालिका अधिकार प्राप्त व्यक्ति रामेश्वर सापकोटाले गरेका हुन् । सम्झौताको लागि अधिकार प्रत्यायोजन गरिसकेको हुँदा सो विषयमा मलाई धेरै जानकारी भएन । प्रभु मनी ट्रान्सफर प्रालि. र प्रभु म्यानेजमेन्ट प्रालिबीच रेमिट्यान्स कारोबारबाहेक अन्य कारोबार तथा लेनदेन हुने गरेको थिएन ।
निज कुसुम लामा प्रभु टेक्नोलोजी प्रालिको स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृत भई काम गरेकी थिइन् । सो समयमा प्रभु म्यनेजमेन्टको समेत ४० प्रतिशत सेयर प्रभु टेक्नोलोजी प्रालिमा रहेको थियो । सोकारण निज कुसुम लामाले एनसेल र वल्र्डलिंकसँग प्रभु टेक्नोलोजी प्रालि बिक्री गर्ने प्रक्रिया सुरु गरेकी थिइन् । निज कुसुम लामासँग मेजोरिटी सेयर नभएको कारण राम्रो मुल्यमा बिक्री हुन नसक्ने कारण देखाई प्रभु टेक्नोलोजी प्रालिमा रहेको मेरो नामको सेयर निज कुसुम लामा र निजको कम्पनी प्रभु म्यानेजमेन्टले खरिद गरेको हो ।
मैले प्रभु म्यानेजमेन्ट प्रालि. २०७१/९/१३मा छाडिसकेपश्चात भएका कारोबारहरुको सम्बन्धमा मलाई जानकारी हुने कुरा भएन । मैले प्रभु म्यानेजमेन्ट प्रालि. छोडिसकेको हुँदा सो सम्बन्धमा मलाई जानकारी हुने कुरा भएन ।
मैले प्रभु म्यानेजमेन्टबाट ६,३१,२४,२६८.२२ रुपैयाँ लिएको छैन । मितिः २०७१/०९/१३ गते (सन् २०१४ डिसेम्बर) प्रभु म्यानेजमेन्ट प्रालि. छाडिसकेपश्चात मिसिल संलग्न रहेको प्रभु म्यानेजमेन्ट प्रालिको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि.मा रहेको खाता नं. ००१०१०१०२९३६८६ को स्टेटमेन्टको विश्लेषण गर्दा सन् २०१८ देखि सन् २०२१ सम्ममा देवीप्रकाश भट्टचनले प्रभु म्यानेजमेन्ट प्रालिको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि.मा रहेको खाताबाट १३,०८,९०,००० रुपैयाँ (तेह्र करोड आठ लाख नब्बे हजार) भुक्तानी लिएको देखिएको र सोही खातामा देवीप्रकाश भट्टचनले ५,१०,००,००० रुपैयाँ (पाँच करोड दस लाख) जम्मा गरेको सम्बन्धमा सन् २०१८ देखि सन् २०२१ सम्मको प्रभु म्यानेजमेन्ट प्रालिको वासलात हेरेर मात्र भन्न सक्छु ।
सम्बन्धित व्यक्तिले विप्रेषण वापतको रकम भुक्तानी पाउनु पर्ने हुन्छ । प्रभु मनी ट्रान्सफर मार्फत आएको विप्रेषणको रकम भुक्तानीको लागि प्रभु मनी ट्रान्सफरले सोही दिन र सो दिन कारणबस नभएमा सो दिनको भोलिपल्ट प्रभु म्यानेजमेन्टलाई भुक्तानीको लागि पठाइसकेको हुन्छ ।
प्रभु म्यानेजमेन्ट प्रालि. र सहकारी संस्थाहरुबीचको सम्झौता अनुसार प्रभु म्यानेजमेन्ट प्रालिले सहकारी संस्थाहरुलाई समेत सोही दिन सोही दिन र सो दिन कारणबस नभएमा सो दिनको भोलिपल्ट भुक्तानी दिनुपर्नेमा प्रभु म्यानेजमेन्टले प्रभु मनी ट्रान्सफरसँग भुक्तानी लिएर सहकारी संस्थालाई भुक्तानी नदिने कार्यमा प्रभु मनि ट्रान्सफररको कुनै संलग्नता र दोष छैन ।
भुक्तानी पाउने सहकारी संस्थाले सोही दिन र सोही दिनको भोलिपल्टसम्म भुक्तानी नपाएपश्चात रकम माग गर्नुपर्नेमा सो रकम सहकारी संस्थाहरुले माग नगर्नुमा सहकारी संस्थाहरुसमेतको गल्ती देखिन्छ । सहकारी संस्थाहरुले धरौटी रकम जम्मा गर्नुपर्ने कुनै व्यवस्था छैन ।
प्रभु मनी ट्रान्सफरले प्रभु म्यानेजमेन्ट प्रालिलाई भुक्तानी गरी सकेको र भुक्तानी पाउने हंस बहुउद्देशीय सहकारी सहकारी संस्थाले सोही दिन र सोही दिनको भोलिपल्टसम्म भुक्तानी नपाएपश्चात रकम माग गर्नु पर्नेमा सो रकम हंस बहुउद्देशीय सहकारी सहकारी संस्थाले माग नगर्नुमा हंस बहुउद्देशीय सहकारी सहकारी संस्थाको पनि गल्ती देखिन्छ ।
नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ आउनुभन्दा अगाडि प्रभु मनी ट्रान्सफरजस्ता अन्य कम्पनीहरुले समेत विभिन्न शीर्षकमा लगानी गरेकोमा नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ आएपश्चात क्रमागत रुपमा विनियमावली अनुसारको कारोबार गर्ने निर्देशन अनुसारको कारोबार मिलाउदै आएको छ ।
सम्बन्धित व्यक्तिले विप्रेषण वापतको रकम भुक्तानी पाउनु पर्ने हुन्छ । प्रभु मनी ट्रान्सफरले प्रभु म्यानेजमेन्टलाई विप्रेषण वापतको रकम अर्को दिनमा भुक्तानी गर्ने गरेको हुन्छ । प्रभु म्यानेजमेन्टले सम्बन्धित सहकारी संस्थाहरुलाई भुक्तानी गर्नु पर्ने दायित्व हुन्छ र सम्बन्धित सहकारी संस्थाहरुले प्रभु म्यानेजमेन्टसँग भुक्तानी पाउनु पर्ने हुन्छ र सहकारीले भुक्तानी नपाएमा प्रभु म्यानेजमेन्टलाई अनुरोध गरी हिसाबकिताब राफसाफ गर्ने दायित्व सम्बन्धित सहकारी संस्था र प्रभु म्यानेजमेन्ट प्रालिको हो ।
उल्लेखित जाहेरवालाहरुलाई मैले चिनेको छैन । उल्लेखित जाहेरवालाहरुले प्रभु म्यानेजमेन्ट प्रालिसँग विप्रेषण कारोबारको लागि सम्झौता गरी कारोबार गरेको हुनसक्छ । मैले २०७१/०९/१३ मा प्रभु म्यानेजमेन्ट प्रालि. छोडिसकेको हुँदा सो कारोबारको सम्बन्धमा मलाई जानकारी छैन ।
प्रभु म्यानेजमेन्ट प्रालिले विप्रेषण वापतको भुक्तानी पाउने सम्पूर्ण रकम प्रभु मनी ट्रान्सफरले पाइसकेको हुँदा सो सम्बन्धमा प्रभु म्यानेजमेन्ट प्रालिलाई जानकारी होला । मैले मितिः २०७१/९/१३ मा नै प्रभु म्यानेजमेन्ट प्रालि. छाडिसकेको हुँदा सो पश्चात प्रभु म्यानेजमेन्ट प्रालिको खाताको कारोबारको सम्बन्धमा मलाई जानकारी हुने कुरा भएन ।
सो सम्बन्धमा प्रभु म्यानेजमेन्ट प्रालिका सञ्चालक तथा सेयर धनी कुसुम लामा र खाता सञ्चालकहरुलाई जानकारी होला । प्रभु मनी ट्रान्सफरले विप्रेषणको भुक्तानी दिनु पर्ने सम्पूर्ण रकम प्रभु म्यानेजमेन्ट प्रालिलाई भुक्तानी गरिसकेको हुँदा प्रभु मनी ट्रान्सफरबाट भुक्तानी लिई सम्बन्धित सहकारीलाई प्रभु म्यानेजमेन्ट प्रालिले भुक्तानी दिनु पर्ने हो ।
प्रभु मनी ट्रान्सफरबाट रकम भुक्तानी भइसकेको हुँदा सोको जिम्मा प्रभु म्यानेजमेन्ट प्रालिको हो । प्रभु मनी ट्रान्सफर प्रालिका पाँच हजार भन्दा धेरै भुक्तानी गर्ने एजेन्टहरु रहेका छन् । प्रभु मनी ट्रान्स्फर, स्टेटमेन्ट अफ फाइनान्सियल पोजिसन फर द इयर इन्डेड ३१ असार २०८१ सम्मको चालु दायित्व महलमा पेयेबल टु एजेन्ट भनी उल्लेखित रकम सो दिनमा कार्यालय समय पश्चातको भुक्तानी गर्न बाँकी रही एजेन्टहरुलाई भुक्तानी गर्ने सम्झौता अनुसार अर्को दिन बैंकमार्फत भुक्तानी गर्ने रकम हो । उल्लेखित रकम भोलिपल्ट एजेन्टहरुलाई बैंकमार्फत भुक्तानी गरिन्छ । (भट्टचनले प्रहरीमा दिएको बयानबाट साभार)