नेपाल प्राकृतिक सौन्दर्यको धनी राष्ट्र हो । यही प्राकृतिक महत्वका चीजहरू हेर्न धेरै मानिसहरू विभिन्न देशबाट नेपाल आउने गर्छन् । हिमालको सितलता र मनमोहक दृश्य हेर्न, पहाडको हरियाली र बन–पाखा बुझ्न, तराई–मधेसका उब्जाऊ जमिन, नदी–नाला, जंगल र सांस्कृतिक सम्पदा सबै हेर्न नेपालमा विदेशी आउँछन् भने हाल आएर नेपाली पर्यटक पनि घुम्न जाने र आन्तरिक पर्यटक भरिपूर्ण हुने गरेका छन् । यहाँको हरेक क्षेत्रले फरक–फरक प्राकृतिक र सांस्कृतिक विशेषता बोकेको छ । तर, यी सम्पदाका बाबजुद पनि हाम्रो देशको अस्तव्यवस्थाले गर्दा सहरहरू सहरजस्ता छैनन् भने गाउँहरूमा पनि उचित कामकाजको अवस्था छैन । धेरै ठाउँमा न्यूनतम मापदण्डका कुरा पूरा भएका छैनन् । भौतिक पूर्वाधार कमजोर रहँदा, योजनाबद्ध रूपमा काम नगरेका कारण, र आवश्यक सुधारको अभावले गर्दा नेपाल अझै धेरै पछि परेको देखिन्छ । हुनुपर्ने काम नभएका निम्नलिखित कारणहरूले देशको समग्र स्थिति कमजोर भएको झल्काउँछ । बाहिरी पर्यटकहरूले नेपाल आउँदै गर्दा यी कमजोरीहरू तुरुन्तै देख्छन् र अनुभव गर्छन् ।
नेपालमा आजको दिनसम्म अस्तव्यवस्थाको कारणले सहर र गाउँ दुबै क्षेत्रमा समस्या देखिन्छ । सहरका सडक धुलाम्मे, सडक चिन्ह र लेन मिचाइ अनियन्त्रित, पार्किङको व्यवस्था अभाव, र ट्राफिकको अराजकता प्रस्ट देखिन्छ । गाउँमा भने पानी, बिजुली, यातायात, शिक्षा र स्वास्थ्य सेवाको उचित व्यवस्था नहुनुले जीवनस्तर घटेको छ । साथै भौगोलिक बिकटताले पनि कतिपय क्षेत्रमा काम गर्न कठिनाइ परेको छ । गर्नै नसकिने कामको कुरा त परै जाओस्, गर्न सकिने काम पनि नहुँदा जनतामा निराशा छाएको देखिन्छ ।
१. अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने बेथिति
प्रत्येक देशबाट आउनेले अन्तर्राष्ट्रिय विमानस्थल नै पहिलो सामना गर्नुपर्छ । यहीँबाट यात्रुले नेपालको स्थिति बुझ्न थाल्छ । तर नेपालमा झर्नासाथ सामान्य कुराहरूमा पनि कमी र कमजोरी देखिन्छ, जहाँ लगेज बोक्ने उचित व्यवस्था छैन । विमानबाट अवतरण गरी बसमा जानुपर्छ, जुन सुविधाजनक छैन । इमिग्रेसनमा डिजिटलाइजेसन छैन, जसले लामो लाइन र ढिलाइ निम्त्याउँछ । शौचालयको उचित व्यवस्थापन छैन, भएका शौचालयहरू पनि फोहोरी छन् । टिस्यु पेपर र पानीको व्यवस्थापन अभावले यात्रुहरूलाई असुविधा हुन्छ ।
लगेज वेइटिङ रुममा एसी छैन, फ्यान मात्र चलिरहेको छ । पुराना भित्ताहरू, धुलो–मैलोले ढाकिएका भुईं र भित्ताहरू देख्दा नेपाल अझै विकासको मार्गमा पछाडि रहेको अनुभव हुन्छ । विमानस्थल बाहिर निस्कँदा ‘ट्याक्सी चाहिन्छ ?’ भन्ने आवाज, एअरपोर्ट ट्याक्सी र अन्य सवारी साधनको अनियन्त्रित हर्नले वातावरण असुविधाजनक बनाउँछ । यसले देखाउँछ कि नेपालमा ‘सब ठिकै छ’ भन्ने मानसिकता अझै प्रचलित छ ।
यसकारण पहिलो प्रभावमा पर्यटकलाई नेपालमाथि नकारात्मक छवि बन्न पुग्छ । देशको आर्थिक विकासको लागि पर्यटन प्रमुख स्रोत हो । यदि विमानस्थलको सुधार नगरेमा पर्यटकको अनुभव खराब हुने भएकाले पर्यटन क्षेत्रमा दीर्घकालीन असर पर्न सक्छ ।
२. अस्तव्यस्त सडक
विमानस्थलबाट बाहिर निस्कँदा अर्को दृश्य अस्तव्यस्त सडक हो । सडकमा अनावश्यक हर्न, लेन मिचाइ, धुलो, रुखबिरुवामा जमेको मैलो आदिले सहरको सौन्दर्य घटाउँछन् । सडकले नेपालीहरूको स्वभाव, नियम पालनामा कमजोरी र सामान्य अनुशासनको अभाव देखाउँछ ।
सडकमा पैदल यात्री, सवारी साधन, मोटरसाइकल मिश्रित छन् । यसले यात्रु र आम नागरिक दुबैलाई असुविधा पु¥याउँछ । सडकको अवस्थाले मात्र सहरको रूप बदलेको छैन, यसले दुर्घटना, धुलो, स्वास्थ्य जोखिम र प्रदूषणलाई पनि बढाउँछ ।
सडक व्यवस्थापनको अभावले दुर्घटनाको दर बढाउँछ । वर्षा वा हिउँ पर्ने समयमा सडक असुरक्षित हुन्छ । यसले आपतकालीन सेवामा ढिलाइ, दैनिक यात्रा असुविधा र आर्थिक घाटा निम्त्याउँछ ।
३. फोहरी वातावरण
सडक धुलाम्मे हुनु, खाल्डाखुल्डी नपुरिनु, निर्माणाधीन सडकले धुलो उडाउनु, थुत्रा गाडीबाट निस्केको धुँवाले शहरलाई कुरूप बनाउँछन् । स्वास्थ्य जोखिम बढ्छ, यात्रा असहज हुन्छ ।
फोहरी वातावरणले प्रदूषण मात्र होइन, रोगहरूको सम्भावना पनि बढाउँछ । धुलो र प्रदूषित पानीका कारण सास फेर्न गाह्रो हुन्छ । बच्चा, वृद्ध र बिरामी सबैभन्दा बढी प्रभावित हुन्छन् ।
सडकमा सफाईको अभावले सामाजिक चेतनामा पनि असर गर्छ । मानिसहरूले आफ्नो वरिपरिको वातावरण सफा राख्न कम ध्यान दिन्छन् । यसले दीर्घकालीन रूपमा सार्वजनिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ ।
४. खानेपानीको उचित व्यवस्थापन नहुनु
नेपालका सहरहरू, विशेष गरी काठमाडौं उपत्यकामा अझै पनि खानेपानीको समुचित व्यवस्था छैन । घर–घरमा पानी पुग्दैन । ट्याड्ढरबाट पानी ल्याउनुपर्छ । गाडीमा पानी ल्याउन बाध्यता छ ।
पानीको अभावले दैनिक जीवन, स्वास्थ्य, शिक्षा र उद्योगमा असर गर्छ । विद्यालय, अस्पताल र व्यापारिक क्षेत्रमा पानीको अभावले कामकाज कठिन बनाउँछ । यसले आर्थिक र सामाजिक विकासमा ढिलाइ निम्त्याउँछ ।
५. खोला–नाला फोहोर हुनु
खोला र नालामा ढल मिसाउने प्रचलनका कारण बागमती, मनोहरा, विष्णुमती, हनुमन्ते आदि नदीहरू गन्हाउने र अव्यवस्थित भएका छन् । पाशुपति जानेबित्तिकै बागमतीको दयनीय अवस्था देखिन्छ । दशौँ वर्षदेखि सफाईको चर्चा भए पनि कार्यान्वयन कम छ ।
खोला–नाला भगवानका रूपमा पूजा गर्छौँ, तर भगवानमाथि अत्याचार हुँदा चुपचाप बस्छौँ । दूषित पानी चढाएर भगवान र पितृलाई अर्पण गर्ने व्यवहारले सामाजिक विरोधाभास देखाउँछ । नदी र नालाको प्रदूषणले जैविक विविधता, मत्स्य पालन र आसपासको वातावरणमा दीर्घकालीन असर पार्छ ।
६. पार्किङको उचित व्यवस्था नहुनु
नेपालका सहरहरूमा पार्किङ समस्या व्यापक छ । पार्किङ भए पनि मार्किङ छैन । अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै पार्किङ छैन । अवैध पार्किङको दण्ड छैन । डिजिटल प्रणालीको अभाव र अत्यधिक म्यानुअल कामले समस्यालाई झनै बढाएको छ ।
सडकमा जथाभावी पार्किङले ट्राफिक जाम मात्र बढाउँदैन, दुर्घटनाको सम्भावना पनि बढाउँछ । यसले सवारी साधनको नियमित सञ्चालनमा बाधा पुर्याउँछ ।
७. सार्वजनिक शौचालयको अभाव
बाहिर हिँड्दा सबैभन्दा आवश्यक कुरा सफा खाने स्थान र सफा शौचालय हो । तर नेपालमा सार्वजनिक शौचालयको अभाव छ । भएका शौचालयहरू पनि फोहोरी छन् ।
सार्वजनिक स्थानमा शौचालयको अभावले स्वास्थ्य समस्या र अस्वच्छता बढाउँछ । यसले पर्यटकलाई असुविधा मात्र होइन, स्थानीय नागरिकलाई पनि गम्भीर समस्या निम्त्याउँछ ।
८. ट्राफिक जामको समस्या
ठूला सहरमा ट्राफिक जाम हुनु सामान्य कुरा हो । तर नेपालमा अनियन्त्रित गाडी चलन, अनियन्त्रित युटर्न, साना गाडीहरूको अत्यधिक संख्या, मोटरसाइकल र जथाभावी पार्किङले जाम बढाउँछ ।
यसले सहरको जीवन गुणस्तर घटाउँछ । दैनिक यात्रा लामो र तनावपूर्ण हुन्छ । व्यवसाय, शिक्षा र स्वास्थ्य सेवामा असर पर्छ ।
९. हड्ताल र प्रदर्शनको समस्या
बस्ने ठाउँ शान्त हुनुपर्छ । तर नेपालमा हड्ताल र प्रदर्शन आम्दानीको साधन जस्तो भएको छ । सडक सबैको साझा सम्पत्ति हो । प्रदर्शन गर्दा अरूको अधिकार कुण्ठित हुनु गलत हो ।
सहरको सामान्य जीवन बाधित हुन्छ । व्यापार, स्वास्थ्य सेवा र शिक्षामा पनि असर पर्छ ।
१०. सार्वजनिक जग्गा संरक्षण नहुनु
सहर र गाउँमा मिचाहत बढेको छ । खुला ठाउँ, चौर, वनजंगल, नदी किनार कब्जामा परेको छ । सार्वजनिक जग्गाको संरक्षण नगर्नु भविष्यका पुस्ताका लागि खतरा हो ।
पार्क, खेलमैदान, खुला स्थल विनाश हुँदा सामाजिक जीवन प्रभावित हुन्छ । यहाँको विकास केवल भवन र सडकमा सीमित छैन; सामाजिक र वातावरणीय सन्तुलनमा पनि असर पर्छ ।
११. राष्ट्रिय गौरवका ठाउँ र साँघुरा गल्लीमा गाडी प्रवेश
काठमाडौंका ऐतिहासिक स्थल—असोन, इन्द्रचोक, साँघुरा गल्ली—सबै ठाउँमा सवारी साधन प्रवेश र अनावश्यक हर्न बजाउने चलन छ । पैदल क्षेत्र हुनुपर्ने ठाउँमा गाडी चलाउनु लज्जास्पद हो ।
यस्ता क्षेत्रमा हर्न पूर्णरूपले निषेध हुनुपर्छ । यसले सांस्कृतिक र ऐतिहासिक स्थलको सम्मान घटाउँछ र पर्यटक अनुभवमा नकारात्मक प्रभाव पार्छ ।
१२. सडकमा अत्यधिक खाल्डाखुल्डी
सडक निर्माण कहिल्यै सकिँदैन । खाल्डा धेरै छन् । पिच बिग्रेको छ । रातारात मर्मत गर्नुपर्नेमा कामभन्दा प्रचार बढी छ । सडक मर्मत व्यवस्थित नभए यात्रु जोखिममा पर्छन् ।
यसले दुर्घटना, वाहन क्षति र दुर्घटनामा मृत्युको सम्भावना बढाउँछ ।
१३. सहरमा हरियालीको अभाव
हरियाली, खुला ठाउँ, हिँड्न–घुम्न मिल्ने बगैँचा छैन । विकासको नाममा विनाश हुनुहुँदैन । सहरले सास फेर्न चाहन्छ, वातावरणले सम्हालिन चाहन्छ ।
हरियाली र खुला ठाउँले मानसिक स्वास्थ्य, जीवनस्तर र सामाजिक सन्तुलनमा सकारात्मक प्रभाव पार्छ । आम नागरिकलाई सहर जीवनमा आवश्यक आधारभूत कुरा पनि छैन ।
१४. सुमधुर बोलीको अभाव
नेपालमा जताजता धेरै ठाउँमा रुखो बोलेको पाइन्छ । सेवा लिने स्थान, कार्यालय तथा धेरै ठाउँमा अलि सुमधुर बोलीको पनि अभाव छ । ठेलमठेल गर्ने र लाइन मिच्ने प्रवृत्तिले हामी कहाँ छौं भन्ने देखाउँछ ।
निष्कर्ष
यी सबै समस्याले देखाउँछ कि नेपाल अझै किन पछाडि छ । यहाँ कामभन्दा कुरा ठूलो छ । प्रचार बढी छ र कामभन्दा प्रचार अगाडि छ । सानो काम गर्दा पनि ‘के–कति गरें’ देखाउने प्रवृत्ति छ । कामको जिम्मेवारी सबैले लिनुपर्छ । ‘गर्छु’ भनेपछि गर्नैपर्छ । सहर सहरजस्तो हुनु आवश्यक छ । राति पनि सडकबत्ती बल्ने, २४ घण्टा सुरक्षाको अनुभूति हुने वातावरण चाहिन्छ ।
यति सानो देश र यति जनसंख्या भएको देशलाई माथि पुर्याउन हरेक क्षेत्रको प्रयासले सम्भव छ । नेपाल पर्यटनको प्रचुर सम्भावना भएको देश हो । पर्यटकलाई पर्यटक–मैत्री वातावरण चाहिन्छ । पर्यटन नै देश विकासको आधार हो । पर्यटकलाई ठगी गर्ने, दुःख दिने प्रवृत्तिलाई तत्काल रोक्नुपर्छ । नेपाल परिवर्तन चाहन्छ, तर यो परिवर्तन केवल मुखको विकास र भाषणले होइन, सबै मिलिजुली गरेर गरिने कर्मले हुनेछ । अब गफ मात्रै होइन, काम गरेर देशलाई अगाडि बढाउने बेला सबै नेपालीको काँधमा आएको छ ।