काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. मदनप्रसाद परियारले हिमाल संरक्षणको मुद्दामा नेपालले विश्व समुदायबीच अग्रणी र नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् ।
अन्तरराष्ट्रिय पर्वतीय दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले जलवायु परिवर्तनका असरबाट नेपाल धेरै प्रभावित मुलुकमध्ये एक भएको बताए । उनले यसको असरसँग जुध्न सामूहिक प्रयासको आवस्यकता औँल्याए । पर्वतीय क्षेत्रका स्थानीय समुदाय, आदिवासी, जनजाति, दलित र पछाडि परेका समुदायले पर्वत र प्रकृति संरक्षणमा खेलेको भूमिका अतुलनीय रहेको उनको भनाइ छ । यी समुदायले संरक्षण गरेका प्रकृति स्रोत, साधन र त्यसबाट उत्पादन भएका वातावरणीय सेवाबाट विश्व समुदाय मुख्य गरी तल्लो तटीय क्षेत्रका समुदाय लाभान्वित भएको उनले बताए । तर उपल्लो तटीय क्षेत्रका समुदायले प्रकृति संरक्षणमा गरेको योगदानको कदर हुन नसकेको उनको भनाइ छ ।
मन्त्री डा. परियारले विश्वव्यापी बढ्दो तापक्रमका कारण हिमनदीहरू पग्लने, हिउँ ताल बन्ने र फुट्ने तथा त्यसको नकारात्मक असर तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने दुई अर्बभन्दा बढी जनसङ्ख्यालाई परेको बताए । सबैले मिलेर हिमनदीको संरक्षण, जलस्रोतको दिगो उपयोग, पर्वतीय खाद्य प्रणालीको सुदृढीकरण, वैज्ञानिक अनुसन्धानको विस्तार र जलवायु वित्तमा न्यायपूर्ण पहुँचका लागि साझा रूपमा प्रतिबद्ध भएर काम गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव गोविन्दकुमार कार्कीले कोप–३० मा नेपालले प्रभावकारी रूपमा आफ्ना विषय राख्न सफल भएको बताए । आगामी दिनमा पर्वतीय संरक्षणका विषयमा थप प्राथमिकताका साथ काम गर्नुपर्ने उनको भनाइ छ । वन मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले ब्राजिलको बेलेममा हालै सम्पन्न कोप–३० सम्मेलनमा नेपालका तर्फबाट भएको सहाभागिता र उपलब्धिका बारेमा अवगत गराउँदै पर्वतीय क्षेत्र संरक्षणका लागि मन्त्रालयले गरेका कामका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा युनिसेफका नेपाल प्रतिनिधि एलिस अकङगा, यहाँस्थित स्विट्जरल्यान्ड दूतावासका प्रथम सचिव एन्टोनी, एनवाईसीएझका संयोजक आकृती डोटेललगायतले जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असर र समाधानका लागि आगामी दिनमा गर्नुपर्ने कामका बारेमा आ–आफ्ना धाराणा राखेका थिए ।