काठमाडौ । नेशनल जियोग्राफीले सेफ सन्तोष साहको परिकारलाई नेसनल जियोग्राफिक म्यागजिनमा समेटेको छ । नेपाली सेफका रूपमा अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका साहको मिथिला थालीलाई नेसनल जियोग्राफीले फिचर गरेको हो ।
नेसनल जियोग्राफिकको म्यागजिनको रिपोर्टअनसार हाल ‘मिथिला थाली’ले अहिले दैनिक पाँच सयभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । सेफ सन्तोषले स्थानीय सामग्री, घरेलु स्वाद र परम्परागत विधिलाई आधुनिक शैलीसँग जोडेर प्रस्तुत गरेका परिकारहरू नेपाली खानाको अन्तर्राष्ट्रियस्तरमा बढ्दो लोकप्रियताको प्रमाण भएको नेसनल जियोग्राफिकको लेखमा उल्लेख छ । सेफ सन्तोषले जनकपुर र मिथिला थालीको नाम विश्वमाझ चर्चामा आउँदा निकै खुसी लागेको बताए । नेपाली खानालाई विश्वमाझ चिनाउन गुणस्तरमा विषेश ध्यान दिँदै आफूले पनि अझै आवश्यक मिहिनेत र परिश्रम गर्दै अघि बढ्न आवश्यक भएको उनले जानकारी दिए । साहले आगामी दिनमा पनि नेपाली परिकारलाई विश्वमाझ पु¥याउनको लागि थप मिहिनेत गर्ने बताए ।
म्यागजिनमा जनकपुरलाई धार्मिक, सांस्कृतिक र पाक–परम्पराले भरिपूर्ण सहरका रूपमा वर्णन गरिएको छ । जनकपुर प्रवेश गरेसँगै देखिने जानकी मन्दिरको भव्यता, त्यसमा देखिने कलाकारिताका साथै तीर्थयात्रुहरूको उपस्थितिलाई समेत उक्त म्यागजिनमा प्रशंसा गरिएको छ । म्यागजिनमा मिथिला भोजनलाई दक्षिण एसियाकै उत्कृष्ट स्थानीय परिकारका रूपमा प्रस्तुत गरिएको छ । यसअघि पनि लोन्ली प्लानेट अन्तराष्ट्रिय म्यागजिनमा जनकपुरधामलाई सांस्कृतिक, धार्मिक र खाद्य पर्यटनका लागि उदीयमान गन्तव्यको रूपमा सूचीवद्ध गरिएको थियो ।