काठमाडौं,भदौ १९
ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मत्स्येन्द्रनाथको रथयात्रा गर्न जबर्जस्ती हजारौँ युवा पुल्चोकमा उत्रिँदा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरी हटाएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड महामारीका कारण मुलुकमा दैनिक सङ्क्रमित थपिँदै गएका कारण थप जोखिम बढ्न नदिन रथयात्रा नगरिने निर्णय भए पनि युवाहरु रथयात्राको साइत रहेको मानी बिहीबार बिहान ११ बजेतिर रथयात्रा गर्न
आएका थिए ।
महामारी नियन्त्रण नभएसम्म मत्स्येन्द्रनाथको रथयात्रा तथा भोटोजात्रा दुवै गर्न अनुमति नदिइने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । ललितपुरमा रहेका १९ जातीय समुदाय र राजनीतिक दलका प्रतिनिधि कसैलाई पनि ती युवा सडकमा उत्रिएर रथयात्रा गर्न खोज्ने विषयमा जानकारी नभएको प्रजिअ भट्टको भनाइ छ । वृष्टिदेवको रथयात्रा गर्न आएका मानिसलाई प्रहरीले कोरोना बढ्नेदेखि पुल्चोकबाट हटाएको पुजारी पूर्णराज शाक्यले बताए ।
यसअघि पनि कोभिड–१९ का कारण पटक–पटक लोकेश्वरको रथयात्रा अन्योलमा परेको थियो । आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण भएको रथमा विराजमान गराइएको थियो । हरेक वर्ष करुणामयलाई रथमा विराजमान गराइएको चार दिनमा पुल्चोकबाट तानेर गाःबहाल अनि मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पु¥याएर भोटो जात्रा गर्ने चलन छ । यस वर्ष भने महामारीका कारण मत्स्येन्द्रनाथको भोटोजात्रा कहिले सम्पन्न हुन्छ भन्ने कसैलाई पनि जानकारी छैन ।रासस