काठमाडौं । बैंक तथा वित्तहरुमा निष्क्रिय कर्जाको ग्राफ उच्च भएको छ । चालू आर्थिक वर्ष २०८२/०८३ को चार महिनामा निष्क्रिय कर्जा दुई खर्ब ९६ अर्ब ३२ करोड दुई लाख ५९ हजार रुपैयाँबराबर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपालमा ५४ बैंक तथा वित्त सञ्चालनमा छन् । तिनले यो अवधिमा कुल ५६ खर्ब ३३ अर्ब ४६ करोड ५० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका थिए । जसमा पाँच दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय देखिएको हो । केन्द्रीय बैंकका अनुसार २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्स कम्पनीमा यो परिमाणमा कर्जा निष्क्रिय देखिएको छ ।
बैंकिङ क्षेत्रमा पछिल्लो अवधिमा कायम रहेको यस्तो निष्क्रिय कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ८४ प्रतिशत अर्थात् ६२ अर्ब ९३ करोड १५ लाख २९ हजार चार सय रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले कुल ५२ खर्ब ८० अर्ब २८ करोड ८० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा औसतमा चार दशमलव ४२ प्रतिशतका दरले हुन आउने दुई खर्ब ३३ अर्ब ३८ करोड ८० लाख ७२ हजार नौ सय ६० रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले मात्र कुल ५० खर्ब नौ अर्ब चार करोड रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव शून्य तीन प्रतिशतका दरले हुन आउने दुई खर्ब ५१ अर्ब ९५ करोड ४७ लाख १२ हजार रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव पाँच प्रतिशत अर्थात् ४० अर्ब ३७ करोड ४८ लाख ५५ हजार नौ सय रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ४६ खर्ब ७० अर्ब ६३ करोड ७० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा चार दशमलव ५३ प्रतिशतका दरले हुन आउने दुई खर्ब ११ अर्ब ५७ करोड ९८ लाख ५६ हजार एक सय रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो चौमासमा विकास बैंकहरूले मात्र कुल पाँच खर्ब २१ अर्ब १६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा छ दशमलव शून्य तीन प्रतिशतका दरले हुन आउने ३१ अर्ब ४२ करोड ६४ लाख ९० हजार सात सय रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव ६६ प्रतिशत अर्थात् नौ अर्ब २४ करोड २७ लाख ५३ हजार आठ सय रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले कुल पाँच खर्ब सात अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा चार दशमलव ३७ प्रतिशतका दरले हुन आउने २२ अर्ब १८ करोड ३७ लाख ३६ हजार नौ सय रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको थियो ।
फाइनान्स कम्पनीहरूले भने चालू आवको पहिलो चौमासमा एक खर्ब तीन अर्ब २५ करोड ६० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा १२ दशमलव ५२ प्रतिशतका दरले हुन आउने १२ अर्ब ९२ करोड ७६ लाख ५१ हजार दुई सय रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव ६६ प्रतिशत अर्थात् एक अर्ब ८६ करोड ९२ लाख २५ हजार दुई सय रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब दुई अर्ब एक करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा १० दशमलव ८४ प्रतिशतका दरले हुन आउने ११ अर्ब पाँच करोड ८४ लाख २६ हजार रुपैैयाँबराबरको कर्जा निष्क्रिय देखिएको थियो ।