अख्तियारले ८ अर्ब बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएका डा. रामशरण महत (गिरिजा कांग्रेसदेखि देउवा कांग्रेसका एआई उत्तराधिकारहरु पूर्ण खड्कादेखि शेखर कोइराला, कृष्ण बाँसकोटा, गगन थापा हालसम्म पनि आर्थिक नीतिका अधिकारिक मार्गदर्शक) आज माइजर (विस्मृति) रोगले थलापरेका केहि थाहा नपाउने (कोमा जस्तो) जिउँदो लास सरह भएका समाचार सामाजिक संजालहरुमा भाइरल भइरहेको देख्दा सुन्दा पापको श्राप नर्क भोग्न मृत्यु कुरिरहन नपर्ने, यसै जन्ममा पनि हुने ‘गीतावचन’ साक्षात् पुष्टि र प्रमाण भेटिएको ठान्न सकिन्छ । ‘वीपीको समाजवाद थोत्रो भइसक्यो’ भन्दै ऋषि धमलाको रिपोटर्स क्लवमा बोके दाह्री हल्लाउदै कांग्रेस सरकार र पार्टीको आर्थिक नीतिका प्रणेता, मार्गदर्शक, तारनहार बनेका डा. रामशरण महत नै मुलुकको वर्तमान तन्नम आर्थिक हालत दिवालीया कंगालीका लागि यस कालखण्डको सबैभन्दा बढी जिम्मेवार पात्र हुन् । उनको अपराध गिरिजा, माधव, ओलीको बुद्धि नपुगेर भएको गल्ती अपराधभन्दा बढी भारपूर्ण हुन जान्छ । अर्थनीतिका लागि इतिहासले गिरिजा, देउवा, ओली आदि इत्यादिलाई उनीहरुका अज्ञानताका लागि क्षमा दिए पनि महत जस्ताले भने क्षमा पाउने छैनन् । बहुदल आगमन यताको देशको इतिहासमा कलंक कालो अध्यायका रुपमा पाठ्यक्रम बनीरहने छ । यो पाठ्यक्रम बन्नु अत्यन्त आवश्यक पनि छ । होइन भने समयले खोजेको विचारधारा बोकेर उठ्ने जेन–जी, जेन–अल्फा पुस्ता र त्यसपछि पनि आउने नवजागरणले कसरी थाहा पाउने ? भोलिको उज्यालो, विकासको प्रगतिको सहि बाटो इतिहासको तथ्य परिणामबाट मात्रै उपलब्ध हुन्छ ।
डा. रामशरण महत, जन्मको त म कुरा गर्दिन । तर राजनीतिक हिसाबको भने न्वारानदेखिको एक–एक हर्कतमा म साक्षात्कार प्रमाण साक्षी छु । यिनी र शेरबहादुर देउवा बहुदल प्राप्तिको आन्दोलन ०४६ साल आउनु अघिका वर्षहरुमा नेपालमा थिएनन् । देउवालाई किशुनजीले विपिन कोइराला र शिवबहादुर खड्काको पछि लागेर गाउँफर्कको झोला बोक्ने सुर लिइसकेका पाएर बेलायति दूतावासलाई भनेर अध्ययनको नाममा बेलायत पुर्याइदिनुभएको थियो । ०४६ को दुई तीन वर्ष अघिनै । डा. रामशरण महत ४/५वर्ष अघिदेखि नै बहुराष्ट्रिय कम्पनीमा सेक्सन अफिसर हाकिमस्तरकै जागिरमा थिए । बहुदल आइसके पछि कांग्रेसको सरकार बनेपछिको अर्थमन्त्री वचन गरेर गिरिजाले नेपाल झिकाएर र नुवाकोटबाट चुनाव जितेर आउन अह्रएका थिए ।
कांग्रेसको टिकटमा चुनाव लड्न नुवाकोट जानुअघि बागबजारस्थित पार्टी कार्यालयमा सभापति कृष्णप्रसाद भट्टराईलाई भेटगर्न आउँदा म त्यहाँ उपस्थित थिएँ । किशुनजीको निजी सहायकका रुपमा मैले किशुनजी र महतबीचको भलाकुसारी संवाद प्रत्यक्ष कानले सुनेको छु ।
‘महत बाबु ! संघर्षकालमा विदेशमा जागिरे भनेर यहाँ बहुदल ल्याउन लडेका खपेका कार्यकर्ताहरुले साथ नदिन सक्छन् । चुनाव हा¥यौं भने त फेरि जागिरमै फर्किने होला नी’ किशुनजीले सोध्नुभएको थियो । त्यसमा महतले जवाफ दिएका थिए– ‘म विद्यार्थीकालमा नेविसंघमा लडेको खपेको साथीहरुलाई थाहा छ । चुनाव जितेर आउँछु ।’ महतको आत्मविश्वासमा किशुनजीले ‘ल बाबु जितेर आउनु, मेरो शुभकामना छ’ भन्दै बिदाइ गर्नुभएको थियो । किशुनजीले यसरी शुभकामना दिएको साक्षी मलाई पनि रामशरण चुनाव जितेर आउलान नै जस्तो लागेको थियो । तर उनी चुनाव हारे । कांग्रेसले बहुमत ल्यायो । उनी चुनाव हार्नुमा कांग्रेसभित्रैका एक प्रदिप गिरिको बौद्धिक प्रहार झेल्न नसकेर थियो । ऋषिकेश शाहदेखि यदुनाथ खनालसम्म गोविन्द प्रसाददेखि मदनमणि दिक्षितसम्म त्यसबखतका स्थापित सबै बौद्धिक जमातले प्रदिपजीलाई आफूहरु सबैभन्दा माथि उचाइको द्रष्टा विचारक मानिदिएका थिए । डा. महतको बौद्धिक हाइट त प्रदिपजीको घुँडासम्म पनि छँुदैन थियो । प्रदिपजीले नुवाकोटको चुनाव प्रचारमा भनिदिनुभयो ‘बहुराष्ट्रिय कम्पनीका जागिरे धान र गहुँको फरक छुट्याउन नसक्ने अर्थशास्त्रीले कांग्रेसको अर्थनीति चलाउन पायो भने देशको बर्बादीलाई कसैले रोक्न सक्दैन ।’ गिरिजा सरकारको अर्थमन्त्रीमा प्रचारित महतलाई रोक्न प्रदिप गिरिको त्यो वक्तव्यले ठूलो काम गर्यो ।
शास्त्र र भाष्यको कला प्रदर्शनमा न अलमलिएर एकदम सरल सबैले छर्लङ्ग बुझ्ने भाषामा कुरा गर्छु । किशुनजीले चुनाव हारेपछि गणेशमानजीको प्रस्तावमा गिरिजाप्रसाद प्रधानमन्त्री बन्न त सफल भए तर रामशरणलाई अर्थमन्त्री बनाउने वचनमा धक्का पुग्यो । गिरिजाले उपाय निकाले । जर्मनीमा छोरीको पालनपोषणमा विद्यार्थी पढाइ पुरागर्न नपाउँदै महेश आचार्यलाई डमी अर्थमन्त्री बनाएर (जसलाई गणेशमानजीले दुधेबालक संज्ञा दिनुभएको आरकाइभमा अभिलेख) महतलाई योजना आयोगको प्रमुख बनाएर कांग्रेस पार्टी र सरकारको आर्थिक नीति हेर्ने संस्थापक आधिकारिक प्रवक्ता भए । भारतमा मनमोहन सिंहलाई जस्तै नेपालमा डा. रामशरण बारे भट्याउन थालियो । कतिसम्म भने बेलायतको कुनै पत्रिकाले डा. महतलाई सार्क मुलुकभरिकै सबैभन्दा हाइटका अर्थशास्त्री भनेर सरकारी मुखपत्र गोरखापत्रमा व्यानर समाचार पनि आयो । अब विजय गच्छदार, जयप्रकाश आनन्द गुप्ताजस्ता संचारमन्त्री भएपछि महत हाइ–हाइ हुनु स्वाभाविक लाग्न थाल्यो । डा. भेषबहादुर थापा, डा. प्रकाशचन्द्र लोहनी जस्ता कहलिएका अर्थशास्त्रीहरु पनि आफैँ सरकारी जग्गा हडप र राष्ट्रघाती महाकाली सन्धिमा हस्ताक्षर गरेको अवगाल अपराधले पनि बहुराष्ट्रिय कम्पनीको कारिन्दासँग आँखा जुधाएर प्रतिवाद गर्ने हैसियत थिएन । अब गिरिजाको दाहिना भएपछि डा. रामशरणलाई मनलागि गर्नबाट कस्ले रोक्ने ?
यहीनेरी डा. महतको परिक्षणको समय पनि थियो । महेन्द्रले खडा गरेका उद्योग कारखाना जोगाउँदै वीपीको भूमिसुधार कृषिनीतिमा प्राथमिकता लिएर अगाडि बढीएको भए इतिहासले रामशरणलाई एउटा अवसर दिएको थियो । प्रारब्धले नै भन्नुपर्यो डा. रामशरणको पहिलो आर्थिक नीति हेटौंडादेखि थानकोटसम्मको ‘रोपवे’ बन्द गर्नबाट प्रारम्भ भयो । चलिरहेको आर्थिक मेरुदण्डका लागि यो कदम एकप्रकारले भन्ने हो भने रिडको हड्डीमा झप्पड प्रहार जस्तो घातक थियो । राजधानीको अर्थतन्त्रमा ढाच भाँचिने ढुवानी सेवामा थियो । रक्सौलको १० रुपैयाँको उपभोग्य वस्तु राजधानी आइपुग्दा एक सय रुपैयाँ मुल्य पुग्दथ्यो । यसैलाई ध्यानमा राखेर राजा महेन्द्र र वीपीको सल्लाहमा हेटौंडा–थानकोट रोपवेको जग हालिएको थियो । यस्तो ढुवानी सेवालाई देशभरि १०/१२ ठाउँमा विस्तार गर्ने योजना थियो । भारतका ठूला ट्रक उद्योगका उत्पादन खपतका लागि यो ‘हेटौंडा–थानकोट रोपवे’ बाधा अवरोध भइरहेको थियो । तिनै ट्रक उद्योगीका प्रलोभनमा परेर कमिसन कुम्ल्याएर बन्द गरिएको थियो । राजधानीको अर्थतन्त्रमाथि ढाडमै प्रहार थियो । धनुषा जनकपुर आसपास ५/७ जिल्लामा उच्चकोटीको सुर्तिखेती अनुकुल माटो पाइएर र ठूलो मात्रामा कौडीको भाउमा अमेरिका पुगेर डलरको भाउमा चुरोट, तमाखु हामीलाई नै (सार्क मुलुक भनौं) बेचिन्थ्यो । अमेरिकाको नेपालमा थियो यो चलाखीपूर्ण शोषणलाई रुसले थाहा पाएर ‘जनकपुर चुरोट कारखाना’ स्थापना भएको थियो । त्यो बन्दहुँदा ५/७ जिल्लाका साना किसान कृषि मजदुर लाखौंको संख्यामा बेरोजगार भए । काठमाडौंको ‘बाँसवारी छालाजुत्ता कारखाना’ उपत्यका भित्रै अत्यधिक राँगा भैसीका छाला खोलामा कुहाएर या केमिकल प्रायोग गरेर नष्ट गर्नुपर्ने, उपत्यकासँग जोडिएका जिल्लाहरुमा पनि तामाङ आदि इत्यादि जनजाति बस्तीको बाहुल्यता पशुपालन मरेका गाइगोरुका छाला भ्याइ नभ्याइ उपलब्ध देखेर कारखाना खडा भएको थियो । चीनले नेपाललाई अत्यन्तै माया गरेर माओत्सेतुङले महेन्द्रलाई सम्झनाको चीनो गिफ्ट दिएको १०० वर्षसम्म पनि मिसिनले जस्ताको तस्तै कामगर्ने क्वालिटिका जुत्ता बेलायत, युरोप, अमेरिकासम्म डिमान्ड हाइ हुन थालेको आखिर विनोद चौधरीले हिनामिना गरेको त्यो मेसिन अहिले पाकिस्तान पुगेर काम गरिरहेको सबै छर्लङ्ग भइसकेकै छ । त्यस्तै ‘भृकुटी कागज कारखाना’बाट उत्पादित कागजबाट जापानले आफ्नो नोट छाप्दथ्यो । त्यसलाई मास्दा त एउटा शान नै मासिएको थियो । वीरगञ्ज चीनी कारखाना, गोरखकाली टायर उद्योग आदि इत्यादि यस्ता उदाहरणहरु गिन्ती गरेर र कुरा गरेर साध्य छैन । मूल लक्ष्य बाटो भनेको जसरी भए पनि आत्मनिर्भरता समाप्त भएर पूर्णरुपको भारतनिर्भर अर्थतन्त्रमा नेपाललाई पु¥याउन रामशरण प्रयोग भएका, उनको वर्तमान प्रारब्ध त्यही वखत नै छर्लङ्ग भइसकेको थियो । ०४५ सालसम्म धानचामल निर्यात कम्पनीको सरकारी साइनबोर्ड छ्यापछ्याप्ती भेटिनेमा अहिले ८३ प्रतिशत खाद्य पदार्थलगायतका सम्पूर्ण उपभोग्य वस्तु विदेशबाट आयात भएर साँझ विहान धान्नुपरेको छ । तीन करोड पनि नपुगेको जनसंख्याको बलिया पाखुरी ८० लाख जनसंख्या खाडी मुलुकमा कामदार भएर रगत पसिना बगाउन धकेलिएका (रेमिटेन्सका लागि बेचिएका) छन् । ६४ प्रतिशत उब्जाउ भूमि बाझै, आठ लाख ग्रामिणबस्ती किसान परिवारका घर खण्डहरमा रुपान्तरण हरेक नेपालीको टाउकोमा जन्मिदै ३० खर्ब बढी ऋणभार ।
यसरी नेपालका सबैखाले अर्थशास्त्री डा. रामशरण महतको महिमा गानमा महको झींगा भए पछिको परिणाम नै आज नेपाल आर्थिक कंगालीको यो पराकाष्टा हालतमा पुगेको हो । सरल भाषाको सबैले सजिलै बुझ्ने यस पुष्टी र प्रमाणित तथ्यदर्शी साक्षीमा कुनै डाटा थपघटले केही अर्थ राख्दैन । परिणामले नै सबै पुष्टी प्रमाणित भइरहेकै छ ।
अन्त्यमा यसमा ‘इस्टयन्डिया कम्पनी’ को ठाउँ ‘बहुराष्ट्रिय कम्पनी’ले अक्षरस लिएको ठाउँमा कांग्रेसको रामशरण अर्थनीति पुग्ने र पुगेको ठाउँ छर्लङ्ग हुने सबैले बुझ्ने स्तरको (आम मतदाताले पनि) एउटा नाम प्रतिक उदाहरणमा अभिलेख गरेर डा. महतको विस्मृति, जिउँदो लास, नर्क भोग्न मृत्यु कुर्नु नपर्ने पापको श्राप प्रारब्ध सन्दर्भमा बिट मार्छु । नाम त चिरञ्जीवी वाग्लेदेखि जयप्रकाश आनन्द गुप्तासम्म, वालकृष्ण खाँणदेखि विजय गच्छदार, गोविन्दराज जोशी, मोहम्मद अफ्तार आलमसम्म धेरैका नाम गिन्ती गरेर साध्यै हुन्न । यी सबैका प्रतिनिधी पात्र खुमबहादुर खड्का नक्खुकारागारमा हामी सँगै बसेका हुन् । उनका बारेमा बनारसमा प्रदिप गिरिलाई कुटेर मार्न खोजेका सोलुका भेट्रान कांग्रेस नेता नरबहादुर कार्कीले बचाएका भन्ने आम कांग्रेसजनमा सूचना पुगेको थियो । नक्खुकारागारमा सहिद सरोजप्रसाद कोइराला, क्याप्टन यज्ञबहादुर थापा पनि कमान्डर हैसियतका कांग्रेस नेता वासु कोइरालालाई चिर्पटै चिर्पटले ढाड सेकेका त पंक्तिकारले प्रत्यक्ष देखेको थिए । खुमबहादुरका बारे सरकार ढाल्ने र खडागर्ने विषयमा गिरिजा र शेरबहादुरलाई पनि उठबस गराउँथ्ये भनिन्थ्यो । ०५६ को चुनावमा एमालेबाट वामदेवलाई फुटाएर कांग्रेसलाई बहुमत पुर्याउने भूमिकामा खुमबहादुर नै निर्णायक थिए भन्ने पाठ्यक्रम अभिलेख छ । भ्रष्टाचारको मुद्दा लागेर अदालतबाट ३/४ वर्ष भुक्तानी गरेर जेलबाट बाहिर निस्कदा नेविसंघ, तरुणदल, कांग्रेस केन्द्रिय सदस्य सांसदहरु सबै जम्मा भएर पटनाबाट सय किलोको माला झिकाएर राजधानीका सडकमा रथयात्रा (इम्पारक्लोथ कथाको राजा पात्र जस्तै) गरिएको थियो । अहिले दाङ जन्म जिल्लामा बडेमानको सालिक खडा भएर गिरिजा लिगेसी देउवाको कांग्रेसका एआई उत्तराधिकार दावेदार पूर्ण खड्कादेखि शेखर कोइरालासम्म कृष्ण सिटौलादेखि गगन थापा, बालकृष्ण खाणसम्म भावी सभापति र प्रधानमन्त्रीको अपेक्षा राखेर धुप बत्ती चन्दन अक्षताले पूजाआजा गर्छन् । यिनीहरुले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको कुरा गर्नु ठूलो लोक हसाइँ र लज्जाको विषय भइसकेको छ । अस्तु ।