काठमाडौं । गोरखा ब्रुअरी/कार्ल्सबर्ग समूहले बोतलको पुनःप्रयोग प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित नयाँ अभियान अघि सारेको छ ।
‘नेभर लिभ ए बोटल बिहाइन्ड’ भन्ने मूल नारासहित खालिसीसीसँगको सहकार्यमा सुरु गरिएको यो अभियानले कम्पनीलाई जिम्मेवार ‘रिसोर्स म्यानेजमेन्ट’तर्फ उन्मुख गराउने बताइएको छ । अभियानअन्तर्गत खालिसीसीले बार र रेस्टुरेन्टहरूसँग प्रत्यक्ष समन्वय गर्दै प्रयोग भइसकेका शिशाको बोतललाई व्यवस्थित रूपमा संकलन, छुट्याउने र पुनःप्रयोगको प्रक्रियामा पठाउनेछ । यसले व्यावसायिक स्थानमै अवशिष्ट व्यवस्थापनको एकीकृत र सहज प्रणाली तयार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । यो मोडेलमार्फत व्यवसायिक क्षेत्रको जिम्मेवारी बढ्ने, बोतल व्यवस्थापन सुलभ हुने र पुनःप्रयोग गर्न सकिने गिलास ल्यान्डफिलसम्म नपुग्ने गरी उल्लेखनीय कमी आउने कम्पनीले जनाएको छ ।