पतञ्जली जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी झिकाउन आदेश दिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले वादी पक्षका साक्षीहरू विशेष सरकारी वकिल कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत तथा प्रतिवादी पक्षका साक्षीहरू प्रतिवादी माधव कुमार नेपालमार्फत झिकाइने व्यवस्था मिलाउन आदेश गरेको हो। अदालतले साक्षीहरूको भौतिक उपस्थितिमा वा भिडियो कन्फ्रेन्समार्फत बकपत्र गराउन सकिने स्पष्ट पारेको छ। यसैगरी, इजलासले पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६९ मंसिर २५ गते गरेको तामेलीमा राख्ने निर्णयसम्बन्धी कागजातसमेत झिकाउन आदेश दिएको छ। अदालतको आदेशसँगै मुद्दाको सुनुवाइ प्रक्रिया थप अघि बढ्ने अपेक्षा गरिएको छ।