काठमाडौँ । मूल्यवृद्धि पछिल्लो समय घट्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले मूल्य वृद्धिदर ओर्लिएको देखाएको हो ।
साउनदेखि कात्तिकसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ११ प्रतिशत देखिएको छ । मुद्रास्फीति भनेको पैसाको मूल्य घट्नु र वस्तु तथा सेवाको मूल्य बढ्नु हो । अर्थात् थोरै वस्तु खरिद गर्नुका लागि पनि धेरै पैसा खर्च गर्नुपर्ने अवस्था नै मुद्रास्फीति हो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति पाँच दशमलव ६० प्रतिशत थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति तीन दशमलव ३२ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ६९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः नौ दशमलव १० प्रतिशत र तीन दशमलव ६५ प्रतिशत रहेको थियो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को चार महिनाको औसत मुद्रास्फीति एक दशमलव ५३ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव ५९ प्रतिशत रहेको थियो ।
चार महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक पाँच दशमलव २५ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको तीन दशमलव ६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको एक दशमलव ९७ प्रतिशतले बढेको छ । तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १४ दशमलव ४३ प्रतिशत, मरमसलाको सात दशमलव ८५ प्रतिशत र दाल तथा गेडागुडीको पाँच दशमलव ३६ प्रतिशतले घटेको छ ।
प्रतिवेदनअनुसार गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५ दशमलव १७ प्रतिशत, शिक्षाको सात दशमलव ५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव २९ प्रतिशत, सुर्तीजन्य पदार्थको चार दशमलव ८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ५५ प्रतिशतले बढेको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक शून्य दशमालव ६६ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक एक दशमलव २६ प्रतिशतले बढेको छ ।
प्रदेशगतरूपमा समीक्षा महिनामा कोशी प्रदेशकोे वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ८० प्रतिशत, मधेश प्रदेशको एक दशमलव ७३ प्रतिशत, बागमती प्रदेशको शून्य दशमलव ८१ प्रतिशत, गण्डकी प्रदेशको शून्य दशमलव ३७ प्रतिशत, लुम्बिनी प्रदेशको एक दशमलव २७ प्रतिशत, कर्णाली प्रदेशको एक दशमलव शून्य आठ प्रतिशत र सुदूरपश्चिम प्रदेशको शून्य दशमलव २६ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव १६ प्रतिशत, तराईको एक दशमलव २४ प्रतिशत, पहाडको शून्य दशमलव ८८ प्रतिशत र हिमालको एक दशमलव शून्य छ प्रतिशत रहेको छ ।
कात्तिक महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति दुई दशमलव ६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति पाँच दशमलव १६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति एक दशमलव ९१ प्रतिशत रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः तीन दशमलव १४ प्रतिशत र दुई दशमलव २६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकांक तीन दशमलव २४ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
सात खर्ब रेमिट्यान्स
चालू आर्थिक वर्षको पछिल्लो चार महिनाको अवधिमा झण्डै सात खर्ब रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रेमिट्यान्स ३१ दशमलव चार प्रतिशतले बढेर छ खर्ब ८७ अर्ब १३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह नौ दशमलव चार प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार २०८२ कात्तिक महिनामा रेमिट्यान्स् एक खर्ब ३३ अर्ब ८२ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स एक खर्ब १४ अर्ब ३१ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेर चार अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह आठ दशमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर सात खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय पाँच खर्ब ६९ अर्ब २९ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या भने एक लाख ४५ हजार नौ सय ७३ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख २७ हजार आठ सय ३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ४७ हजार सात सय ४८ र ९४ हजार एक सय पाँच रहेको थियो ।
३० खर्ब ५५ अर्ब विदेशी मुद्रा
नेपाल राष्ट्र बैंकको ढुकुटीमा ३० खर्ब ५५ अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा सञ्चिति देखिएको छ । राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४ दशमलव एक प्रतिशतले बढेर २०८२ कात्तिक मसान्तमा २० खर्ब ५५ अर्ब ५२ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १० दशमलव तीन प्रतिशतले बढेर २१ अर्ब ५२ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १२ दशमलव आठ प्रतिशतले बढेर २७ खर्ब २४ अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब चार करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा २५ दशमलव आठ प्रतिशतले बढे तीन खर्ब ३० अर्ब ८५ करोड कायम भएको छ । २०८२ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव नौ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३को चौथो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २० महिना आठ दिनको वस्तु आयात र १७ महिना चार दिनको महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
चालू खाता बचतमा
मुलुकको चालू खाता बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा चालू खाता दुई खर्ब ७९ अर्ब ६५ करोडले बचतमा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता एक खर्ब ४७ अर्ब ७८ करोडले बचतमा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब १० करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा एक अर्ब ९९ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर छ अर्ब २१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर दुई अर्ब ४७ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा दुई अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) पाँच अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति भने तीन खर्ब १८ अर्ब ४० करोडले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब २६ करोडले बचतमा रहेको छ ।
खुद सेवा आय भने पछिल्लो अवधिमा ३२ अर्ब ९१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २२ अर्ब ३७ करोडले घाटामा रहेको प्रतिवेदनमा उल्लेख छ । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय शून्य दशमलव नौ प्रतिशतले बढेर २७ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २६ अर्ब ९० करोड रहेको थियो । प्रतिवेदनअनुसार चालू आवको कात्तिक मसान्तसम्ममा सेवा खाताअन्तर्गत भ्रमण व्यय ११ दशमलव आठ प्रतिशतले बढेर ७५ अर्ब ७४ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय ४८ अर्ब २६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ६७ अर्ब ७५ करोड रहेकोमा शिक्षातर्फको व्यय ३७ अर्ब ७७ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।