सुवास बस्नेत
बाबुले आत्महत्या गरको एक वर्ष नबित्दै आमाको पनि उपचारको क्रममा बुधबार मृत्यु भएपछि ४ जना बालबालिका टुहुरा बनेका छन् । स्वास्थ्यमा समस्या आएपछि सामुदायिक अस्पताल भर्ना भएकी कालिन्चोक गाउँपालिका वडा नम्बर १ कि ३८ वर्षीया अमृता थामीको मृत्यु भएपछि उनका ४ बच्चाको विचल्ली भएको हो ।
मृतक थामीका श्रीमान्ले गतवर्ष आत्महत्या गरेपछि आफ्नो बालबालिकाको पालनपोषणका लागि थामी होटलमा काम गर्दै आएकी थिइन् । आमा र बुबा दुवैको मृत्यु भएपछि ४ बालबालिकाको विचल्ली भएको छिमेकी मैया थामिले बताइन् । बेसहारा बनेका बालबालिकालाई सहयोग गर्न सबैसामु सहयोगको अपिल गरिएको कालिन्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामीले बताए ।
थामीको मृत्यु भएपछि स्थानीय प्रहरी प्रशासनसँगको समन्वयमा प्राथमिक स्वास्थ्य केन्द्र चरीकोटको शवगृहमा बुधबार नै शव पठाइएको थियो । आफन्तको अनुपस्थितिमा मृतकको शव शवगृहमा पठाइएको भन्दै बिहीबार केहीबेर अस्पताल परिसरमा तनाव सिर्जना समेत भएको थियो ।
थामीको मृत्यु प्रकरणमा अस्पताल निर्दोष रहेको पाइएकाले आफन्तले शव बुझेको सामुदायिक अस्पताल चरीकोटका सञ्चालक अमृत बुढाथोकीले जानकारी दिए । मृतकको श्रीमान्को यसअघि नै मृत्यु भइसकेको र छोराछोरी सानै उमेरको रहेकाले अस्पतालले अन्तिम संस्कारका लागी १५ हजार रूपैयाँ सहयोग गरेको उनले बताए ।
यस्तै मृतककी १४ वर्षीया जेठी छोरीको उच्च शिक्षामा पनि अस्पतालले सघाउने उनले बताए । मृतक थामीकी जेठी छोरी १४, माइली छोरी ९ र कान्छी छोरी ७ वर्षकी छिन् । यस्तै उनको २ वर्षीया छोरा छन् । दुई आमाबुबा गुमाएका बालबालिकालाई पत्रकार गोकर्णप्रसाद भण्डारीको पहलमा विभिन्न व्यक्तिले सहयोगसमेत गर्न थालेका छन् । हालसम्म उनीहरूलाई ५७ हजार रूपैयाँ सहयोग जुटेको छ ।आर्थिक दैनिकबाट