काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि २३ अर्ब मूल्य बराबरको दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको बताएका छन् ।
कामपाको ३१औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले कामपाको लक्ष्य दुई खर्ब बराबरको एक हजार आठ सय ५९ रोपनी सार्वजनिक अतिक्रमण जग्गा फिर्ता गर्नु रहेको बताए । यस्तै उनले ९१ करोड लागतको सम्पदा संरक्षणको काम गरेको पनि जानकारी दिए । उनका अनुसार पाँच अर्ब चार करोडको लागतमा दुई सय ५१ योजना बोलपत्र प्रक्रियामार्फत खरिद गरिएका छन् । यस्तै धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार सम्पन्न भएको उनले जानकारी दिए । ६२ चोकमा हाइमास्ट लाइट जडान गरिएका छन् । साथै पाँच हजार तीन सय १८ पोलमा १३ हजार तीन सय ४० बत्ती जडान गरी रात्रिकालीन सहरी सौन्दर्य विस्तार गरिएको उनले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा दुई अर्ब ८६ करोड बराबरका पूर्वाधार योजना सम्पन्न भएका छन् । कार्यक्रममा उनले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्व दिएर बढाउने नीति अपनाएको बताए । बहाल करको क्षेत्र विस्तार गरिएको र नागरिकबाट सक्लित राजस्व नागरिककै सामूहिक हितमा प्रयोग भइरहेको उनको भनाइ थियो । आर्थिक, सामाजिक र पूर्वाधार विकास, सुशासन तथा प्रशासनिक सुधार महानगरका नियमित कार्यक्षेत्र भएको उनले बताए । महानगरले स्वास्थ्य, शिक्षा, रोजगारी प्रबद्र्धन, वातावरण सुधार र पूर्वाधार कार्यक्रमलाई थप प्राथमिकतासहित कार्यान्वयनमा ल्याएको जनाएको छ ।
प्रमुख शाहले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाको प्रभावकारी कार्यान्वयनबाट महानगरवासीलाई काठमाडौँमा बसोबास गरेकोमा गर्व हुने वातावरण बनाइने प्रतिबद्धता पनि जनाए । त्यसका लागि उनले सङ्घ, प्रदेश, विकास साझेदार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्यको अपेक्षा गरेको बताए । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहितको सहभागिता थियो । कार्यक्रममा विभिन्न वडाले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । काठमाडौँ महानगरले हरेक वर्ष मंसिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ ।