काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र बालाजी विद्यापिठ विश्वविद्यालय, भारतबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
चिकित्सा शिक्षाका यी दुई शिक्षण संस्थाहरुबीच हालै आपसी सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा शैक्षिक सहयोग, सांस्कृतिक आदान प्रदान, पारस्परिक समृद्धीका लागि सहयोगी गतिविधिहरु सञ्चालन गर्ने, शिक्षक तथा विद्यार्थीहरु आदान प्रदान गर्ने, संयुक्तरुपमा अनुसन्धान परियोजनाहरु सञ्चालन गर्नुका साथै अनुसन्धानको नैतिकता, चिकित्सा शिक्षाको नवीनतालाई साझा मूल्य मान्यता बनाई प्रवर्द्धन गर्ने, निरन्तर चिकित्सा शिक्षाजस्ता कार्यक्रमहरुलाई प्रोत्साहन गर्नेलगायत उल्लेख छ ।
उक्त हस्ताक्षर कार्यक्रममा प्रतिष्ठानका तर्फबाट शिक्षाध्यक्ष प्राडा सञ्जिव कुमार शर्मा, डीन प्राडा शिवेन्द्र झा, सहायक डीन डा. वीम्मी सिंह तथा एनाटोमी विभागका एडिसनल प्रोफेसर डा. सन्दीप साहको उपस्थिति रहेको थियो भने बालाजी विद्यापिठ विश्वविद्यालयका तर्फबाट स्वास्थ्य व्यवसाय शिक्षा संस्थानकी निर्देशक प्राडा एम शिवाशक्तिको उपस्थिति रहेको थियो । साथै, विश्वविद्यालयका उपकुलपति प्राडा एनआर विश्वासलगायत अन्य पदाधिकारीहरु भर्चुअल रुपमा उपस्थित थिए । उक्त समझदारीपत्रमा प्रतिष्ठानका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्राडा सञ्जिवकुमार शर्मा र विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्राडा श्रीनिवासनले हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा साक्षीका रुपमा प्रतिष्ठानका तर्फबाट डीन प्रा.डा. शिवेन्द्र झाले र विद्यापिठका तर्फबाट प्राडा एम शिवाशक्तिले हस्ताक्षर गरेका थिए ।