काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ह्वीलचियर पुल सञ्चालनमा ल्याइएको छ । प्रतिष्ठानमा उपचारका लागि आउने विरामीहरूको सुविधालाई ध्यानमा राखी सेन्टर ह्वीलचियर र ट्रली पुलको निःशुल्क सेवा सञ्चालनमा ल्याइएको हो ।
सहयोगी दाताहरूको सहयोगमा प्रतिष्ठानको जीओपीडी भवनअगाडि निर्मित उक्त पुलको प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठले आइतबार उद्घाटन गरेका थिए । साथै पुलको सफल सञ्चालनका लागि उनले यहाँ रहेको क्यूआर कोडमार्फत व्यक्तिगतरूपमा ५० हजार रुपैयाँ प्रतिष्ठानको खातामा जम्मा गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जिव कुमार शर्मा, रजिष्ट्रार प्राडा सूर्यप्रसाद संग्रौला, अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद, प्रवक्ता प्राडा अन्जु प्रधान, मेट्रान कला थापा, पुल सञ्चालन समितिका सदस्यहरूलगायतको उपस्थिति रहेको थियो ।
दाताहरूबाट प्रतिष्ठानमा प्राप्त १६ थान ह्वीलचियर र एक थान ट्रलीमार्फत उक्त सेवा सुरु गरिएको छ । त्यसमध्ये १५ थान ह्वीलचियर प्रतिष्ठानका हाडजोर्नी विभागका एडिसनल प्रोफेसर डा. विष्णु पोखरेलकी आमा सरिता पोखरेल र एक थान ह्वीलचियर छवी ट्रेड कन्सर्न, काठमाडौंका अंकित गोयंकाले प्रदान गरेका थिए । त्यसैगरी, एक थान ट्रली प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जिव कुमार शर्माले प्रदान गरेका हुन् । पुल सञ्चालनका लागि धरान उपमहानगरपालिका वडा नं. १ निवासी समाजसेवी तथा व्यापारी ललित अग्रवालले टहरा निर्माण गरी सहयोग गरेको प्रतिष्ठानकी प्रवक्ता प्राडा अञ्जु पन्तले जानकारी दिइन् । प्रतिष्ठानका तर्फबाट भने पुल सञ्चालन गर्न आवश्यक जनशक्ति र प्रतिष्ठानबाट जारी हुने प्रत्येक ओपीडी टिकटबाट पच्चिस पैसा ह्वीलचियर र ट्रली मर्मतसम्भारका लागि छुट्याउने व्यवस्था गरिएको छ ।
प्रतिष्ठानमा उपचारका लागि आउने विरामीहरूले ह्वीलचियर र ट्रली प्रयोग गर्नुपर्दा उक्त पुलमा खटिएका कर्मचारीहरूलाई आफ्नो परिचय खुलाउने किसिमको परिचयपत्र धरौटी राखी निःशुल्करूपमा प्रयोग गर्न सक्नेछन् । विरामीको ओपीडी कार्डका आधारमा त्यहाँ रहेका कर्मचारीले शर्तनामासहितको फारम भरिदिएपश्चात् विरामी अथवा बिरामी कुरुवालाई आवश्यकताअनुसार ह्वीलचियर र ट्रली उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ । साथै प्रतिष्ठानले सेन्टर ह्वीलचियर र ट्रली पुल सञ्चालनका लागि एनेस्थसिया विभागका प्राडा. आशिष घिमिरेको संयोजकत्वमा १२ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।