काठमाडौं । नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरूलाई परिसंघले सम्मान गरेको हो ।
मंगलबार सीएनआई सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सर्वोत्कृष्ट करदाताहरूलाई सम्मान गरेका थिए । सो अवसरमा उनले सर्वोत्कृष्ट करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रति महत्वपूर्ण योगदान समेत भएको बताए । उच्च करदाताको रुपमा राज्यलाई गरेको योगदानको कदर गर्दै परिसंघले पनि सम्मान गरेको उनले जानकारी दिए । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति)लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सोही उच्च करदाताहरूलाई निजी क्षेत्रको तर्फबाट परिसंघले सम्मान गरेको हो । राष्ट्रिय कर दिवसमा वस्तु निर्यातको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रालि, विशेष उद्योगहरूमध्येबाट युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसायमध्येबाट सोल्टी होटेल लिमिटेड, वस्तु व्यापारको कारोबार गर्नेमध्येबाट भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि, ऊर्जामूलक उद्योगमध्येबाट भोटेकोशी पावर कम्पनी प्रालिलाई परिसंघले सम्मान गरेको छ ।
यस्तै कृषि एवं पशुपन्छीजन्य उद्योगहरूमध्येबाट पोषक ब्रिडर फार्म प्रालि, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमध्येबाट भेरिस्क नेपाल प्रालि, एकलौटी फर्महरूमध्येबाट थर्ड आई इन्टरनेसनल, बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्नेमध्येबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि., स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमध्येबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल परिसंघबाट सम्मानित भएका छन् । यसैगरी रेमिट्यान्स तथा मनि ट्रान्सफरको कारोबार गर्नेमध्येबाट आईएमई लिमिटेड, निकायहरूमध्येबाट नेपाल दूरसञ्चार प्राधिकरण, वार्षिक कारोबार रकम ५० करोड रुपैयाँभन्दा बढी एक सय करोड रुपैयाँसम्म कारोबार गर्ने कारदाताहरूमध्येबाट सीडीएस एन्ड क्लियरिङ लि., वार्षिक कारोबार रकम ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदाताहरूमध्येबाट भीएफ सर्भिसेज (मोरिसस) प्रालिलाई परिसंघले सम्मान गरेको हो ।
विसं २०७६ साउनदेखि २०८२ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर विवरण र सो अवधिको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र व्यक्तिगत करदातामध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई सम्मान गरेको परिसंघले जनाएको छ । शाह परिसंघका उपाध्यक्ष समेत हुन् ।