काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीका अनुसार जारी भई व्यतित भएका बीमालेखहरू पुस एक गतेदेखि माघ १५ गतेसम्म नवीकरण गरेमा छुट दिइने छ । कम्पनीले सूचना जारी गर्दै भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरी एक सय ८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरू पुस एकदेखि माघ १५ गतेसम्म नवीकरण गरेमा विलम्ब शुल्कमा छुट दिने घोषणा गरेको हो ।
सोअनुसार पाँच वर्षभन्दा माथि व्यतित भएका बीमालेखहरूमा २० प्रतिशत, तीन वर्षभन्दा माथि पाँच वर्षसम्म व्यतित भएका बीमालेखहरूमा २५ प्रतिशत र तीन वर्षसम्म व्यतित भएका बीमालेखहरूमा लाग्ने विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट हुने छ । कम्पनीका अनुसार यो छुट सुविधा पाउनका लागि बीमालेख एक सय ८० दिनभन्दा बढी समय व्यतित भएको हुनु पर्ने, बीमा अवधिभर एकपटक मात्रै यो सुविधा पाइने र यो सुविधा प्रयोग गरी नवीकरण गरिएका बीमालेख एक वर्षभित्र सरेन्डर भएमा विलम्ब शुल्क काटिने सर्त पनि रहेको छ ।