काठमाडौं । सूर्यकुण्ड हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर बिक्रीको आह्वान गरेको छ । कम्पनीले यही पुस नौ गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारमा रहेकाहरूको लागि साधारण सेयर बिक्रीको आह्वान गरेको हो ।
सोअनुसार कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका जनताको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी छ करोड ८९ लाख ६७ हजार पाँच सय रुपैयाँ बराबरको छ लाख ८९ हजार छ सय ७५ कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीका अनुसार पुस नौ गतेबाट खुल्ला हुने यो सेयर खरिदको लागि यही पुस २३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिभित्रमा पूरा सेयर खरिदको लागि आवेदन नपरेमा यो समय माघ ८ गतेसम्म लम्बिने छ । यसैगरी वैदेशिक रोजगारीमा रहेकाहरूको लागि पनि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी छ करोड ८९ लाख ६७ हजार पाँच सय रुपैयाँ बराबरको छ लाख ८९ हजार छ सय ७५ कित्ता सेयर बिक्रीको आह्वान गरिएको कम्पनीको भनाइ छ । सेयर खरिदको लागि यही पुस नौ गतेबाट छिटोमा पुस १४ गते र ढिलोमा पुस २३ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा भने कुमारी क्यापिटल लिमिटेड रहेको छ ।