काठमाडौं । नबिल बैंकले पोखरा शाखामा छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सीईओ आदर्श बजगाईंले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् ।
ग्राहकलार्ई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप काठमाडौं उपत्यका बाहिर पहिलोपटक लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महाराजगञ्ज, बौद्ध र कौशलटार शाखाहरूबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
लाउञ्ज उद्घाटन गर्दै डेपुटी सीईओ बजगाईंले भने, ‘ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेका हौं । यसबाट हाम्रा ग्राहकले व्यक्तिगत तथा सहज रूपमा उच्चस्तरीय बैंकिङ सेवा अनुभव गर्न पाउने छन् ।’ नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकले रिलेसनसिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, सहज बैंंकिङ लाउञ्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा लिनसक्ने जनाइएको छ ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरको दुई सय ६८ वटा शाखा र तीन सय २१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्दै आएको छ ।