वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गा अघि आफ्ना समर्थकहरूलाई दिनुभएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बीबीसीविरुद्ध कम्तीमा १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् ।
फ्लोरिडाको मियामीस्थित संघीय अदालतमा सोमबार दायर गरिएको मुद्दामा बीबीसीमाथि कथित मानहानि तथा फ्लोरिडा भ्रामक र अनुचित व्यापार अभ्यास ऐनको उल्लङ्घन गरेको आरोप लगाइएको छ । मुद्दामा दुई छुट्टाछुट्टै गणनाअन्तर्गत प्रत्येकका लागि पाँच अर्ब डलरभन्दा कम नहुने गरी क्षतिपूर्तिको माग गरिएको छ, जसको कुल माग कम्तीमा १० अर्ब डलर पुग्छ ।
उनासी वर्षीय राष्ट्रपति ट्रम्पले सोमबार बीबीसीले आफ्नो ‘मुखमा शब्दहरू राखिदिएको’ दाबी गरे । उनले उक्त वृत्तचित्र सम्पादन गर्दा ‘एआई वा यस्तै कुनै प्रविधि प्रयोग गरिएको हुनसक्छ’ भन्ने आशंकासमेत गरे । मुद्दा दायर गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उनको भनाइ छ । सन् २०२४ को राष्ट्रपतीय चुनावअघि बीबीसीको प्रमुख समसामयिक कार्यक्रम ‘प्यानोरामा’ मा उक्त वृत्तचित्र प्रसारण गरिएको थियो । सो भिडियोमा सन् २०२१ जनवरी ६ का राष्ट्रपति ट्रम्पका भाषणका दुई फरक–फरक अंशलाई एकसाथ जोडिएको देखिन्छ, जसले उनले आफ्ना समर्थकहरूलाई क्यापिटलमा आक्रमण गर्न प्रत्यक्ष रूपमा आग्रह गरेजस्तो देखाउने प्रयास गरिएको आरोप लगाइएको छ । त्यही दिन अमेरिकी सांसदहरू जो बाइडेनको सन् २०२० को चुनावी जित प्रमाणित गरिरहेका थिए । रासस/एएफपी