काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत नयाँ सरकारलाई शक्ति हस्तान्तरण गर्न आफूहरू आतुर रहेको बताएकी छिन् ।
ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले वर्तमान सरकार निर्वाचनको तीव्र तयारीमा रहेको बताइन् । अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर सरकारले काम गरिरहेको उनको दाबी छ । उनले भनिन्, ‘निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ ।’ गत भदौ २३ र २४ गतेको जेन–जी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको अवस्थामा आगामी फागुन २१ गते निर्धारित समयभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अहोरात्र खटेर तयारीमा लागेको उनको भनाइ छ । निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न पनि उनले सबैलाई आग्रह गरिन् । मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउने एकमात्रै विकल्प निर्वाचन नै भएको उनले बताइन् ।
प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि खालका अराजकतालाई स्थान दिन नहुनेमा जोड दिईन् । शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको उनले बताइन् । खराब तत्वको प्रतिरोध गर्न समुदायको पनि महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै समाजमा शान्ति कायम गरी सुशासनयुक्त राष्ट्र निर्माणमा हातेमालो गर्न आह्वानसमेत गरिन् ।
समारोहमा ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन जेन–जी समूहले सहयोग गर्नुपर्ने बताए । महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विभिन्न समयमा योगदान पुर्याउने विभिन्न तहमा रहेका व्यक्तित्वको योगदानबाट ललितपुर महानगरपालिका आजको अवस्थासम्म आइपुग्न सफल भएको बताइन् । कार्यक्रममा ललितपुर महानगरलाई सबैभन्दा बढी कर तिर्ने संस्था रातो बङ्गाला स्कुल, निराराज्य लक्ष्मी राणा लगायतलाई सम्मान गरिएको छ ।