काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीविरुद्ध हुने उच्छङ्ंखल गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार विज्ञप्ति निकाल्दै केन्द्रीय बैंकले यस्ता गतिविधि अस्वीकार्य रहेको बताएको हो ।
केही दिनअघि बर्दिबासमा ज्योति विकास बैंकका कर्मचारीमाथि दुव्र्यवहार भएको थियो । ऋणीले छलफलका लागि बोलाएर बैंकका कर्मचारीमाथि कालोमोसो दलेर लछारपछार गरेका थिए । त्योसँगै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसनलगायतका संस्थाहरूले आपत्ति जनाएका थिए ।
नेपाल सरकार, यस बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका वित्तीय सेवा प्राप्त गर्न सहज भएको अवस्थामा यस्ता आक्रमण हुन नहुने केन्द्रीय बैंकको भनाइ छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र यस बैंकको निर्देशनको अधिनमा रहीे कर्जा प्रवाह गर्नु, प्रवाह गरेको कर्जासम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य हो । विज्ञप्तिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप संकलन गरी कर्जा प्रवाह गर्ने भएकाले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने, तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने हुन्छ । यद्यपि, कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा परेको असहजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले समय–समयमा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नसक्ने लगायतका व्यवस्था गरी सहजीकरण गर्दै आएको छ ।’
बंैकिङ कारोबार सम्बन्धमा कुनै गुनासो भएमा सम्बन्धित संस्था र यस बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेकाले ग्राहकलाई मर्का परेको भन्ने लागेमा सोको गुनासो गर्न र समाधान गर्न सकिने व्यवस्थासमेत रहेको केन्द्रीय बैंकको भनाइ छ । ‘बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीविरुद्ध भएका गैरव्यवसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने भएकोले वित्तीय सेवा प्रभावित हुने क्रियाकलापमा संलग्न नहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।
साथै, बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने भएकाले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई मनोबल उच्च राखी कार्य गर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ ।