काठमाडौं । नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट कार्य सम्पन्न भएको छ । बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँट गरेको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।
नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार सेयरको अन्तिम बाँडफाँट गरेको हो । संस्थागत लगानीकर्तालाई परिपत्र विधि (व्यक्तिगत तवर)बाट प्रस्ताव आह्वान गरी प्राप्त आवेदनबमोजिम अग्राधिकार सेयर बाँडफाँट गरिएको हो । नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार सेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात्, यस किसिमको अग्राधिकार सेयर जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पहिलोपटक यस बैंकले प्राप्त गरेको हो ।
अविमोच्य असञ्चिति अग्राधिकार सेयर निश्चित भुक्तानी अवधि नतोकिएको तर बैंकले वितरणयोग्य नाफा आर्जन गरेको वर्षमा निश्चित लाभांश पाउने विशेषता भएको पुँजी बजार उपकरण हो । यो उपकरण जारी गरेपश्चात् अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैंकको जोखिम भार क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरको दुई सय ६८ वटा शाखा र तीन सय २१ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।