काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले पराजित गर्दै तेस्रो पटक पार्टी नेतृत्वमा चयन भएका हुन् ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक हजार छ सय ६३ मत प्राप्त गरे । प्रत्यासी पोखरेलले पाँच सय ६४ मत मात्रै प्राप्त गरे । आयोगका अध्यक्ष डा. विजय सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले बिहीबार नै शपथ लिएका छन् भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले शपथ गराएका छन् ।
अध्यक्षबाहेक महासचिवमा शंकर पोखरेल एक हजार दुई सय २८ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले नौ सय ९९ मत प्राप्त गरे । नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन बिहीबार नै सम्पन्न भएको छ । भक्तपुरको सल्लाघारीमा गत मंसिर २७ गते उद्घाटन भई काठमाडौंको भृकुटीमण्डपमा मंसिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको बिहीबार औपचारिक समापन भएको हो । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले अन्तिम मतपरिणाम घोषणा गरेका थिए ।
अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा तीन सय एक सदस्यीय केन्द्रीय कमिटी र २५÷२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरू निर्वाचित भएका छन् ।
पदाधिकारीमा को–को निर्वाचित ?
११औँ महाधिवेशनले पार्टी पदाधिकारी पनि निर्वाचित गरेको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी भएका छन् । त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२ मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराई १३४८ मतका साथ विजयी भएका छन् ।
यसैगरी, सचिव महेश बस्नेतले १५४४ मत, छविलाल विश्वकर्माले १५०६मत, पद्माकुमारी अर्यालले १५३० मत, शेरधन राईले १५०३ मत, हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १३३१ मत, यमलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी भएको आयोगले जनाएको छ ।
केन्द्रीय कमिटीको पहिलो बैठक आज
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नवनिर्वाचित केन्द्र्रीय कमिटीको पहिलो बैठक बोलाएको छ । आज शुक्रबार दिउँसो १ः०० बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा. राजन भट्टराईले जानकारी दिए । उनका अनुसार बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्नेछ ।
बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा तीन सय एक सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
अध्यक्ष ओलीलाई पोखरेलको सुझाव
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले सामूहिक नेतृत्व, विधि र पद्धतिअनुसार सही र लोकतान्त्रिक तरिकाले पार्टीलाई सञ्चालन गर्न नवनिर्वाचित नेतृत्वलाई सुझाव दिएका छन् ।
निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भई अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएपछि पहिलो प्रतिक्रिया दिँदै निवर्तमान वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनको दौरानमा उठाएका जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीलाई नियन्त्रण र सन्तुलनको सिद्धान्तअनुसार सञ्चालन हुनुपर्ने बहसले नयाँस्तरमा निरन्तरता पाउने विश्वास पनि व्यक्त गरेका हुन् । नयाँ नेतृत्वलाई बधाई र शुभकामना दिँदै उनले आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण तथा लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा सहभागिता र संलग्नता अटुट रूपमा रहिरहने विश्वास दिलाएका छन् ।