काठमाडौं । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसहितका कुल ५४ वटा संस्थाले घरजग्गा क्षेत्रमा दुई खर्ब ७४ अर्ब ९४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । पछिल्लो समय सुस्ताएको रियलस्टेट क्षेत्रमा बैंक तथा फाइनान्सहरूबाट झण्डै तीन खर्ब कर्जा प्रवाह भएको हो ।
यो अवधिमा बैंक तथा वित्तले कुल ७५ खर्ब २० अर्ब २४ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ खर्ब ३३ अर्ब ४६ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा रियलस्टेट क्षेत्रमा प्रवाह भएको कर्जा गत आवको सोही अवधिको तुलनामा छ अर्ब १० करोड १० लाख रुपैयाँले मात्र बढी हो । गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको यस्तो कर्जा दुई खर्ब ६८ अर्ब ८४ करोड २० लाख रुपैयाँ थियो ।
उक्त वर्ष बैंक वित्तले ६६ खर्ब ४४ अर्ब २३ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ खर्ब ८० अर्ब २८ करोड ८० लाख रुपैयाँ कुल कर्जा प्रवाह गरेका थिए ।
वाणिज्य बैंकहरूले मात्र चालू आवको कात्तिक मसान्तसम्म कुल ६७ खर्ब ६३ अर्ब ४६ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब नौ अर्ब चार करोड रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र कुल दुई दर्ब २५ अर्ब ९१ करोड ९० लाख रुपैयाँ प्रवाह भएको छ । यो कर्जा गत आवको सोही अवधिमा पाँच करोड ९० लाख रुपैयाँले कम हो ।
गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ५९ खर्ब सात अर्ब १६ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ४६ खर्ब ७० अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र कुल दुई खर्ब २५ अर्ब ९७ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकहरूले पनि चालू आवको कात्तिक मसान्तसम्ममा कुल छ खर्ब २१ अर्ब ५३ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब २१ अर्ब १६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र कुल ३७ अर्ब २३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यो कर्जा गत आवको सोही अवधिको तुलनामा पाँच अर्ब २१ करोड २० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले कुल छ खर्ब तीन अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब सात अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र कुल ३२ अर्ब दुई करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले भने चालू आवको कात्तिक मसान्तसम्म कुल एक खर्ब ३५ अर्ब २५ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब तीन अर्ब २५ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र ११ अर्ब ७८ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यो कर्जा गत आवको सोही अवधिको तुलनामा ९४ करोड ७० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले एक खर्ब ३३ अर्ब ७२ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब दुई अर्ब एक करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र कुल १० अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।