काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारीले वैदेशीक रोजगारीका नाममा ठगी गर्नेलाई नियन्त्रण गर्न विशेष संयन्त्र तयार गर्न लागिएको जानकारी दिएका छन् ।
अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोलीसहितको विशेष संयन्त्र निर्माणको तयारी गरिएको बताए । यसका लागि सीआईबीलाई पत्र पठाएको उल्लेख गर्दै उनले चेलिबेटी बेचविखन, अपराध महाशाखालगायत सबै टोलीलाई सक्रिय बनाएर विशेष संयन्त्र तयार गर्ने जानकारी दिए । ‘वैदेशिक रोजगारका नाममा ठग्ने र दुःख दिने जुनसुकैलाई कानुनी कठघरामा ल्याउछौँ’, उनले भने । सुशासनको सुरुवात गर्ने एउटा आधार यो हो । कार्यक्रममा उनले मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशमै परिश्रम गर्ने वातावरण मिलाउन अहिलेको सरकार लागेको पनि बताए ।
आप्रवासन जनशक्तिको सम्मान र सदुपयोग गर्न जरुरी रहेको उनको भनाइ थियो । छोटो समयका लागि विशेष परिस्थितिमा मन्त्री बन्न आएको भएपनि वैदेशिक रोजगार व्यवस्थित बनाउन आफूले दिनरात नभनी जिम्मेवारी पूरा गर्ने उनको दाबी छ । कार्यक्रममा नेपाल लेवर माइग्रेसन रिपोर्ट २०२४ सार्वजनिक गरिएको थियो । श्रम मन्त्रालय र इन्टरनेसनल लेवर अर्गनाइजेसन (आइएलओ) को संयुक्त सहकार्यमा तयार पारिएको उक्त प्रतिवेदन हरेक दुई वर्षमा प्रकाशन हुने गर्छ । आइएलओका देशीय निर्देशक नुमान ओज्कानले जुनसुकै देशका आप्रवासीको हकहित र सुरक्षाका लागि सबैको सहकार्य आवश्यक हुने बताए । नेपाल सरकारसँग आप्रवासनको नीतिगत सुधार, श्रमिक अधिकार र व्यवस्थापनमा आइएलओ हातेमालो सधैं सकारात्मक रहँदै आएको उनले जानकारी दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. कृष्णहरि पुस्करले आप्रवासन संस्कृतिलाई रोक्न नसकिने हुँदा यसको सही व्यवस्थापनमा रणनीति बनाएर जानु नै उपयुक्त हुने बताए । मन्त्रालयले सप्ताहव्यापी रुपमा अन्तरराष्ट्रिय आप्रवासन दिवस मनाउँदै आएको छ ।