काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ७५ करोड ६० लाख रुपैयाँ बराबरको प्रति सेयर एक सय रुपैयाँ अंकित दरका ७५ लाख ६० हजार कित्ता साधारण सेयरको १ः०.६ (अर्थात् विद्यमान एक कित्ता साधारण सेयर बराबर नयाँ ०.६ कित्ता साधारण निष्कासन गर्न लागेको हो । सोअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४५ करोड ३६ लाख रुपैयाँ बराबरको ४५ लाख ३६ हजार कित्ता कित्ता हकप्रद साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद सेयरका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बिहीबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेड बसुन्धारा, काठमाडौं स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले नेपालको कृषि क्षेत्रको व्यवसायिक विकासका लागि कृषक र उपभोक्ताहरुलाई जोड्न संस्थागत मूल्य श्रृंखला व्यवस्थापकको रुपमा कार्यरत अग्रणी कम्पनी हो । कम्पनीले कृषकहरुको लागि आवश्यक उत्पादनका साधनको उपलब्धता, परामर्श सेवा, प्रविधि प्रसार, प्रशोधन उद्योगहरुको विकास र उपभोक्ताहरुलाई स्वस्थ, गुणस्तरीय र पोषिलो कृषि उत्पादनहरु उपलब्ध गराउने सम्बन्धी व्यवसाय गरिरहेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, सेयर रजिस्ट्रेसन र निष्कासन तथा बिक्री प्रबन्ध गर्ने अनुमति प्राप्त मर्चेन्ट बैंकिङ्ग संस्था हो ।